News Griha :: न्यूजगृह
बाइडेनलाई राष्ट्रपति पदको उम्मेदवारी छोड्न चन्दादाताको दबाब 
जो बाइडेन

काठमाडौं— अमेरिकी राष्ट्रपति जो बाइडेनलाई आगामी राष्ट्रपति पदको उम्मेदवारी छोड्न दबाब बढिरहेको बेला उनले आफ्नो उम्मेदवार नछोड्ने जिकिर गरिरहेका छन्। एबीसी न्यूजसँगको अन्तर्वार्तामा बाइडेनले आफूले उम्मेदवारी नछोड्ने बताउँदै भने, ‘जबसम्म भगवान आफैं आउनु हुन्छ र मलाई उम्मेदवारी छोड्न भन्नुहुन्छ, तबसम्म म पद त्याग्ने छैन।' 

डोनाल्ड ट्रम्पसँगको पहिलो बहस हारेपछि बाइडेनले उम्मेदवारी छोड्नुपर्ने धारणा बलियो हुँदै गएको छ। डेमोक्रेटिक पार्टीका नेता, कार्यकर्तादेखि अब चुनावको लागि चन्दा दिने कम्पनी र व्यक्तिहरूले समेत बाइडेनले आफ्नो उम्मेदवारी छोड्नुपर्ने बताउन थालेपछी दबाब बढेको छ।

८१ वर्षीय बाइडेनको शारीरिक अवस्था र स्वास्थ्यका कारण उनले चुनावी क्याम्पेनमा ट्रम्पलाई चुनौती दिन नसक्ने र चुनाव जितेपछि राष्ट्रपतिको काम गर्न नसक्ने दलिल दिन सुरु गरिएको छ। तर बाइडेनले आफू राष्ट्रपतिको चुनाव लड्नेछन् र ट्रम्पलाई हराउने विश्वास व्यक्त गरेका छन्। 

US-President-Joe-Biden-1720328119.jpg
जो बाइडेन

बाइडेनलाई उम्मेदवारी छोड्न दबाब बढिरहेका बेला उपराष्ट्रपति कमला ह्यारिस डेमोक्रेटबाट राष्ट्रपतिको उम्मेदवार बन्ने सम्भावना बढिरहेको विश्लेषण हुन लागेको छ। आगामी अगस्ट १९ देखि २२ सम्म हुने डेमोक्रेटिक पार्टीको नेशनल कन्भेन्सनमा यो विषय अझ चर्किने र सम्भवत बाइडेन उम्मेदवार नबन्ने विश्वास व्यक्त गरिएको छ।

बाइडेनको उम्मेदवारी अनिश्चित भएपछि यसको असर डेमोक्रेट पार्टीको लागि चन्दा सङ्कलनमा परिरहेको मिडिया रिपोर्टमा उल्लेख छ।

डेमोक्रेटिक पार्टीका लागि निर्वाचन कोष सङ्कलन गर्ने नेक्स्ट जेनेरेसन पीएसीले समेत बाइडेनलाई राष्ट्रपतिको दौडबाट पछि हट्न र उनको स्थानमा उपराष्ट्रपति कमला ह्यारिसलाई मौका दिनुपर्ने भनेको छ। उनी बाइडेन भन्दा राम्रो उम्मेदवार साबित हुन सक्ने जिकिर गरिएको छ।

नेटफ्लिक्सका सहसंस्थापक रीड हेस्टिङ्सले सार्वजनिक रूपमा बाइडेनले उम्मेदवारी छोड्नु पर्ने बताएका छन्। हेस्टिङ्स र उनकी श्रीमती प्याटी क्विलिन डेमोक्र्याटिक पार्टीका सबैभन्दा ठूलो दाता हुन्।

Vice-President-Kamala-Harris-1720328118.jpg
उपराष्ट्रपति कमला ह्यारिस

एक परोपकारी संस्था चलाउने गिडोन स्टेनले बाइडेन दौडबाट फिर्ता नहुन्जेल उनको परिवारले दिने भनेको करोडौँको चन्दा रोकेको बताइएको छ। उनीहरूले अधिकांश दाताहरूले ट्रम्पलाई हराउन डेमोक्र्याटहरूले नयाँ अनुहारलाई उम्मेदवार बनाउनुपर्ने विश्वास गरेका छन्।

त्यस्तै डिज्नी कम्पनीका मालिक र फिल्म निर्माता अबिगेल ई. डिज्नीले बाइडेनले देशको धेरै सेवा गरेका छन्, तर डेमोक्र्याटहरूले अब नयाँ उम्मेद्वार नआएसम्म कुनै चन्दा नदिने बताएका छन्। धेरै जसो चन्दादाताले बाइडेनको उम्मेदवारी फिर्ता गर्नुपर्ने माग गरेपछि डेमोक्रेटिक पार्टी पनि दबाबमा परेको छ।

हेर्नुहाेस् पूरा अन्तर्वार्ता

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, असार २३, २०८१  १०:४१
समसामयिक
Weather Update