प्रतिनिधिसभाको बैठक आज बस्दै

काठमाडौं— प्रतिनिधिसभा बैठक आज बस्दै छ। बैठक संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने तालिका रहेको छ।
बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी र कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूचीमा उल्लेख छ ।
त्यस्तै प्रतिनिधिसभाका सचिव सुरेश अधिकारीले प्रतिनिधिसभामा उत्पत्ति भएको 'विनियोजन विधेयक, २०८१' का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशको जानकारी गराउनेछन्।
त्यसैगरी, पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले 'पूर्वाधार विकास समितिको वार्षिक प्रतिवेदन, २०८०' पेस गर्नेछन्।
त्यस्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले 'अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३३औँ वार्षिक प्रतिवेदन आ.व. २०७९/२०८०' पेस गर्ने सम्भावित कार्यसूची रहेको सङ्घीय संसद् सचिवालयले जानकारी दिएको छ।
प्रकाशित मिति: आइतबार, असार २३, २०८१ १०:०६