
चितवन— नारायणी नदीमा आएको बाढीले नारायणगढ–नगरवन जोड्ने झोलुङ्गे पुल बगाएको छ। पुलका दुवैतर्फका पिल्लरहरु भत्काउँदा पुल बगेको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ। नारायणी नदीको दुई भंगालोको बीचमा रहेको नगरवनमा आन्तरिक पर्यटकहरू घुम्न जाने गर्दथे।
नारायणी नदीमा आएको बाढीले सतर्कताको तह पार गरेपछि नदी तटीय क्षेत्रका बासिन्दालाई विभिन्न सुरक्षित स्थानमा सारिएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ ।
भरतपुर महानगरपालिका वडा नं. १६ गुम्बाचोबाट २६ महिला र ३३ पुरुष गरी ५९ जनालाई सुरक्षित स्थानमा सारिएको छ। यस्तै, भरतपुर महानगरपालिका ३ मा रहेको ‘हाम्रो घर’ नामक संस्थामा आश्रित २४ जना बालबालिका र दुई जना कामदार गरी २६ जनालाई एग्रोभेटको भवनमा सारिएको छ।
यस्तै भरतपुर १७ गोब्रेनीमा नारायणी नदीले घर डुबाउने अवस्था आएपछि १७ घर धुरीका ५४ जनालाई सुरक्षित स्थानमा सारिएको छ । उनीहरूलाई आफन्तको घरमा र कसैलाई आश्रय मागेर सारिएको हो । घरका सामानहरूलाई डुङ्गाको सहायताबाट सार्ने काम भइरहेको छ।
भरतपुर महानगरपालिका—३ बालकुमारी नर्सिङ कलेजले भोगचलन गर्दै आएको भवनमा बस्ने ३ पुरुष र १ महिलालाई नजिकै रहेका आफन्तहरूको जिम्मा लगाइएको छ। भरतपुर महानगरपालिका वडा नं. १ देवघाटस्थित नारायणी नदीको किनारमा रहेको कुटी र त्यहाँ रहेका १० घरका २८ जनालाई मारवाडी सेवा समाजको घरमा सारिएको छ।













