News Griha :: न्यूजगृह
सेती नदीमा बाढी, बैतडीको सिगासका ६० घरपरिवार सुरक्षित स्थानमा
प्रतिनिधिमूलक तस्बिर। 

बैतडी— सेती नदीको जलस्तर बढेर बाढी बस्ती पस्न थालेपछी बैतडीको सिगासका ६० घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको छ।

सिगास गाउँपालिका–५ ढुङ्गाडका ६० घरपरिवारलाई स्थानीय शारदा माविमा सारिएको बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले जानकारी दिए।

उनले भने, 'सेती नदी गाउँ पस्ने खतरा बढेपछि ढुङ्गाडका ६० घरपरिवारलाई सुरक्षित स्थानमा सारेका हौँ। स्थानीय जनप्रतिनिधिको सहयोगमा उनीहरूलाई शारदा माविमा सारिएको छ।'

नदीमा बाढीको सम्भावना बढेसँगै उनीहरू पशुचौपायासहित घर छाडेर विद्यालयमा आश्रय लिएर बसेका हुन्। अविरल वर्षाका कारण सेती नदीमा पानीको बहाव बढेपछि स्थानीय त्रसित बनेका छन्।

नदी किनारमा लगाएको तटबन्धमाथि जलस्तर पुगेपछि स्थानीय बासिन्दा घर छाड्न बाध्य भएका इन्द्रबहादुर चन्दले बताए। सेती नदीमा पानीको बहाव बढ्दै गएपछि सिगास गाउँपालिका–५ का हरडाखानी, लाम्बगड, लोडेलगायत बस्ती बाढीको उच्च जोखिममा परेका छन्।

यस्तै वडा नं ६ का सेती किनारका बस्ती पनि बाढीको जोखिममा परेका बताइएको छ। सेती नदीको बाढीले यहाँ बर्सेनि आतङ्क मच्चाउने गरेको छ। यसअघि २०७८ कात्तिक पहिलो साता परेको बेमौसमी वर्षाले सिगास–५ ढुङ्गाडलगायत क्षेत्रमा सेतीको बाढी पस्दा ठूलो क्षति गरेको थियो।

लगातार वर्षा भइरहेकाले जोखिम हुनसक्ने भन्दै सावधानी अपनाउन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ। 

प्रकाशित मिति: आइतबार, असार २३, २०८१  ०६:५५
Weather Update