News Griha :: न्यूजगृह
हेटौँडामा २५ घर डुबानमा
ड्रोनबाट खिचिएको मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नं ५ स्थित शान्तिनगर भएको डुबान । अविरल वर्षाले सिँचाइटोल, शान्तिनगर, पिप्ले, कर्रा क्षेत्र डुबानमा परेको छ । तस्बिरः मणिराज गौतम

मकवानपुर— आज बिहानदेखि परेको अविरल वर्षाका कारण हेटौँडा उपमहानगरपालिका–५ का विभिन्न स्थानमा करिब २५ घर डुबानमा परेका छन्।

डुबानमा परेका नागरिकको प्रहरीले सकुशल उद्धार गरेको मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए।

नालामा आएको भेलले निकास नपाएपछि  घर डुबानमा परेको हो। विशेषगरी गर्दोई क्षेत्रका घर डुबानमा परेका छन्। अपरान्ह पानी रोकिएपछि डुबान घट्दै गएको र जनजीवन सामान्य बन्दै गएको प्रहरीले जनाएको छ।

मकवानपुरगढी गाउँपालिका–२ स्थित सन्तबहादुर घलानको गोठ भासिएर गोठभित्र फसेका चारवटा गाईको सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ। वर्षाका कारण पहिरो गएर अवरुद्ध बनेका सडकमा यातायात सञ्चालनको तयारी भइरहेको छ। 

प्रकाशित मिति: शनिबार, असार २२, २०८१  २१:२९
Weather Update