News Griha :: न्यूजगृह
कालीगण्डकी र सेतीखोलामा जलसतह बढेपछि सेतीबेनी र शालिग्राम शिला डुबानमा, पुजारी तथा पण्डित विस्थापित

पर्वत— केही दिनदेखिको अविरल वर्षाका कारण विश्वको ठूलो शालिग्राम शिला र नजिकै रहेको सेतीबेनी बजार डुबानमा परेको छ। सेतीखोलामा आएको बाढीले सेतीबेनी बजारस्थित सिंहप्रसाद ह्याइजुको घर भत्किएको छ भने बजारमा बाढी पस्न थालेपछी जनजीवन प्रभावित भएको हो।

पर्वत, स्याङ्जा र गुल्मीको सङ्गमस्थलमा पर्ने पर्वतको बिहादी गाउँपालिका–६ सेतीबेनी र स्याङ्जाको गल्याङ नगरपालिका–५ मा रहेको विश्वको ठूलो शालिग्राम शिला पूर्णरुपमा डुबानमा परेको सेतीबेनी प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक सन्देश भण्डारीले जानकारी दिए।

setibeni-1720273438.jpgकालीगण्डकी र सेतीखोला दुवैको बहाव बढेपछि शिलामा जाने बाटो, नजिकै रहेको सत्तल र परिक्रमास्थल डुबिसकेका छन् भने बजार उच्च जोखिममा रहेको उनले बताए।

मुस्ताङ, म्याग्दी, पर्वतमा ठूलो वर्षा भएकाले कालीगण्डकीको सतह बढ्ने क्रम जारी रहेको प्रहरी सहायक निरीक्षक भण्डारीले बताए। उनका अनुसार कालीगण्डकी ए जलविद्युत् आयोजनाको बाँधका कारण बाढी आउँदा पर्वत, स्याङ्जा र गुल्मी जिल्ला  डुबानको जोखिममा परेका हुन्।

शिला डुबानमा परेसँगै उक्त क्षेत्रमा कार्यरत पुजारी तथा पण्डित विस्थापित बनेका छन्। सेतीबेनीमा मिसिने सेतीखोलाको बहाव अत्यधिक उर्लिएपछि पर्वत र स्याङ्जातर्फका बजार क्षेत्रमा कटानको जोखिम बढ्दै गएको छ।

यसैबीच, कालीगण्डकीमा पानीको बहाव बढेपछि कालीगण्डकी जलविद्युत् आयोजनाको बाँधका सबै ढोका खोलिएका छन्। दुवै खोलाको बहाव बढेसँगै बजार क्षेत्रका दुई सयबढी व्यापारी तथा सर्वसाधारण त्रसित छन्। 

१५ वर्षअघि कालीगण्डकी र सेतीखोला उर्लेर आउँदा तीन दर्जन परिवार विस्थापित बनेका थिए। 

प्रकाशित मिति: शनिबार, असार २२, २०८१  २०:५९
Weather Update