
काठमाडौं— बागमती नदीमा फसेका ३ जनाको सकुशल उद्धार गरिएको छ।
शनिबार अपरान्ह काठमाडौंको कीर्तिपुर नगरपालिका—१० ल्याबरेटोरी स्कुल नजिकै बागमती नदीमा फसेका ३ जनाको सशस्त्र प्रहरीको गोताखोरले सकुशल उद्धार गरेको हो।
सशस्त्र प्रहरी बल नेपाल नम्बर २० विपद उद्धार गण सिनामंगलबाट सशस्त्र प्रहरी निरीक्षकको कमान्डमा ५ जना गोताखोरसहित १५ जना र नम्बर १८ निलबाराही गण कीर्तिपुरबाट १० जनाको टोलीले उनीहरूको उद्धार गरेको हो।
उद्धार गरिएकाहरूमा हेटौंडाका उर्मिला लामा र अनिता लामा तथा खोटाङका धनराम लामा हुन्।
५६ जनाको उद्धार
यसैबीच काठमाडौं उपत्यका प्रहरी कार्यालयका अनुसार भक्तपुरको मध्यपुरथिमि नगरपालिका–२ दिव्यश्वरी प्लानिङ क्षेत्रमा बाढीले डुबानमा परेका १८ टहरामा बस्ने ५६ जनालाई उद्धार गरी सुरक्षित स्थानमा सारिएको छ।
उद्धार गरिएकामा ३० जना पुरुष, २० महिला र छ जना बालबालिका रहेका कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।
उपत्यकाका तीनवटै जिल्लामा सम्भावित विपद् व्यवस्थापन तथा उद्धारका लागि प्रहरी टोली परिचालन गरिएको पनि उनले बताए।













