
काठमाडौं— शनिबार परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोबाट ३ जनाको मृत्यु भएको छ।
काठमाडौंको नागार्जुन नगरपालिका–३ मा पहिरोले पुरिँदा २२ वर्षीय मनोज विकको मृत्यु भएको छ। पहिरोले पुरिँदा घाइते भएका उनको उपचारको क्रममा मनमोहन अस्पतालमा मृत्यु भएको हो।

त्यस्तै, स्याङ्जाको बिरुवा गाउँपालिकामा पहिरोले घर पुरिँदा २ जनाको मृत्यु भएको छ। एक जना बेपत्ता छन्। बिरुवा गाउँपालिका–६ लामाखेतका ईश्वरी लम्सालको घर पहिरोले पुर्दा ६५ वर्षीया गुहेश्वरी शर्मा मरासिनी र ६७ वर्षीया हरिमाया शर्माको मृत्यु भएको हो। ७१ वर्षीय माधव शर्मा बेपत्ता छन्। उनको खोजी भइरहेको स्याङ्जा प्रहरीका सूचना अधिकारी डीएसपी इन्द्रबहादुर रानाले जानकारी दिए।

त्यस्तै, पर्वतमा पहिरोमा २ जना बेपत्ता छन्। फलेबास नगरपालिका १ कार्कीनेटामा पहिरो जाँदा ४० वर्षका झलकप्रसाद शर्मा र ३३ वर्षीय तुलसी प्रसाद शर्मा बेपत्ता भएका हुन्।
त्यस्तै, दोलखाको गौरीशङ्कर गाउँपालिका—९ मा बाढीले ६३ वर्षकी जाङ्मु शेर्पालाई बेपत्ता बनाएको छ। प्रहरीका अनुसार गौरीशङ्कर हिमालको फेदबाट हिमपहिरो आई छोम्मु गोल्जु खोला थुनिएको र रोल्वालिङ खोलामा मिसिएर पानीको बहाव बढेर बाढी आउँदा होटलको सामान सार्ने क्रममा शेर्पा बेपत्ता भएकी हुन। सोही स्थानमा बाढीले ३ वटा घर समेत बगाएको छ।
दाङको राजपुर गाउँपालिका—२ का राजकुमार यादवलाई राप्ती नदी पार गर्ने क्रममा बेपत्ता छन्।
गुल्मीको रुरु क्षेत्र गाउँपालिका—३ मा पहिरोले घर पुर्दा वर्ष ४५ की रूपा टमटा घाइते भएकी गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ।
भक्तपुरको हनुमन्ते खोलामा आएको बाढीबाट मध्यपुर ठिमी दिव्यश्वरी प्लानिङमा १८ वटा टहरामा बस्ने ५६ जना मानिसहरूलाई उद्धार गरिएको प्रहरीको भनाई छ।
पाल्पाको रामपुर—९ मा पहिरो जाँदा कमल बहादुर साठीघरेको कच्ची गोठमा पहिरो झरेर भैँसीको पाडी, बाख्रा र खसी पुरिएको छ भने गोठ पूर्णरुपमा क्षति भएको छ।

यस्तै पोखराको सेती नदीको किनारमा बसोबास गर्ने ५ घर धुरीका २३ जनालाई सुरक्षित स्थानमा सारिएको प्रहरीले बताएको छ।
काठमाडौंका बागमती, मनोहरा र भक्तपुरको हनुमन्ते खोला लगायतका किनाराका बस्तीमा बाढी पस्दा जनजीवन अस्तव्यस्त बनेको छ।














