News Griha :: न्यूजगृह
सहकारी छानबिन समितिले गर्‍यो गृहसचिव र प्रहरी प्रमुखसँग सोधपुछ

काठमाडौं— सहकारी छानबिन विशेष समितिले गृहसचिव एकनारायण अर्याल र आईजीपी वसन्तबहादुर कुँवरसँग सोधपुछ गरेको छ। समितिको शुक्रबार बसेको बैठकमा सहकारी प्रकरणका ठगी, उजुरी र यससँग सम्बन्धित विषयमा दुवैसँग सोधपुछ भएको हो।

बिहीबारमात्रै समितिले यी दुवैसँग सोधपुछ गर्ने निर्णय गरेको थियो।

एमाले सांसद सूर्यबहादुर थापा नेतृत्वको ७ सदस्यीय विशेष छानबिन समितिले नियमित छलफल गर्दै सहकारी ठगीका विषयमा अध्ययन र अनुसन्धान गर्दै आएको छ। 

समितिले गृहमन्त्री रवि लामिछाने आबद्ध भएको गोर्खा मिडिया, यो मिडियामा गैरकानुनी रुपमा रकम आएका सुप्रिम, सूर्यदर्शन, स्वर्ण लक्ष्मीसहितका ९ वटा सहकारीको पनि छानबिन गरिरहेको छ। यिबाहेक अन्य १७ वटा समस्याग्रस्त सहकारीको सञ्चालकसहितमाथि पनि समितिले छानबिन गरिरहेको छ।

जेठ १५ गते प्रतिनिधि सभामा बनेको समितिले जेठ २३ गतेबाट काम थालेको थियो। काम थालेको तीन महिनाभित्र समस्या देखिएका २९ वटा सहकारीको छानबिन गरी सरकारलाई प्रतिवेदन बुझाउनुपर्ने छ। यस क्रममा समितिले एक महिनाको समय बिताएको छ। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, असार २१, २०८१  १३:४१
राजनीति
Weather Update