News Griha :: न्यूजगृह
मादीमा ‘चारलेन’ पुल धमाधम निर्माण हुँदै

तनहुँ—  मुग्लिन–पोखरा सडक योजनाअन्तर्गत मादी नदीमा चारलेनको पुल धमाधम निर्माण भइरहेको छ। व्यास नगरपालिका वडा नं ४ र ५ जोड्ने मादी नदीमाथि निर्माण भइरहेको पुलको काम हालसम्म ३० प्रतिशत सकिएको मुग्लिन पोखरा सडक योजना (पूर्वी खण्ड) ले जनाएको छ।

पूर्वी खण्डका इन्जिनियर विष्णुप्रसाद पाण्डेले ३ सय १५ मिटर लामो पुल तीन वर्षभित्र सम्पन्न गर्ने गरी निर्माणकार्य भइरहेको जानकारी दिए। उक्त पुलका ६ वटा स्पान हुनेछन्। सन् २०२२ अगष्ट ११ मा पुल निर्माणका लागि १ अर्ब २१ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको थियो। 

इन्जिनियर पाण्डेका अनुसार पृथ्वी राजमार्गमा सबैभन्दा लामो ‘आर्क डिजाइन’ को उक्त पुल चारलेनको हुनेछ। हाल नदीमाथि रहेको दुई लेनको ३ सय ७० मिटर लामो पुल छ। सोही पुलभन्दा करिब ५० मिटरको दूरीमा नयाँ पुल निर्माण भइरहेको हो।

निर्माण कम्पनीका प्रतिनिधि दिनेश श्रेष्ठले अहिलेकै गतिमा काम अगाडि बढे निर्धारित समयभन्दा अगाडि नै पुल निर्माण हुने विश्वास व्यक्त गरे। 

पुल निर्माणका लागि राति ३० जना र दिउँसो एक सयभन्दा बढी कामदार परिचालन गरी दुई सिफ्टमा काम भइरहेको उनले बताए। मुग्लिन पोखरा सडक योजनाको पूर्वी खण्डअन्तर्गत आँबुखैरेनीदेखि जामुनेसम्म १३ पुल निर्माण भइसकेका छन्। ठूला पुलमध्ये दमौलीको मादी नदी, बुल्दी खोला, बन्दीपुरको नाला र आँबुखैरेनीको खानी खोलामा पुल निर्माणकार्य जारी छ। 

इन्जिनियर पाण्डेले पूर्वी खण्डमा २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएकामा हालसम्म ६२ प्रतिशत सम्पन्न भएको बताए। २०२६ सालमा रेखाङ्कन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडीबी)को ऋण सहयोगमा चारलेनको सडक बनाउन लागिएको हो।

पूर्वी खण्डको ठेक्का ६ अर्ब २१ करोड ३१ लाख १३ हजारमा र पश्चिम खण्डको ठेक्का सात अर्ब ४० करोड ४६ लाख रुपैयाँमा लागेको छ। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, असार २१, २०८१  १२:५५
राजनीति
Weather Update