News Griha :: न्यूजगृह
बेलायतमा लेबर पार्टीलाई बहुमत, किअर स्टार्मर प्रधानमन्त्री बन्दै
लेबर पार्टीका नेता किअर स्टार्मर । तस्बिर: बीबीसी

काठमाडौं— बेलायतमा झन्डै १४ वर्षपछि लेबर पार्टी सत्तामा फर्कने भएको छ। बिहीबार भएको आम चुनावको नतिजा आउने क्रम जारी छ। अहिलेसम्म घोषित परिणामअनुसार लेबर पार्टीले बहुमत ल्याइसकेको छ।

बिहीबार भएको निर्वाचनबाट बेलायती संसद् हाउस अफ कमन्समा प्रतिनिधित्व गर्ने ६५० सांसद निर्वाचित हुनेछन्। सरकार बनाउनका लागि ३२६ सिट आवश्यक पर्छ। अहिलेसम्म लेबर पार्टीले ३३३ सिट जितिसकेको छ। त्यस्तै प्रधानमन्त्री ऋषि सुनकको दल कन्जरभेटिभ पार्टी भने ७२ सिटमा मात्र विजयी भएको छ। त्यस्तै लिबरल डेमोक्रेटिक पार्टी ४६ सिटमा विजयी भएको छ।

बीबीसीले लेबर पार्टीले ४०५ सिट जित्ने प्रक्षेपण गरेको छ। त्यस्तै कन्जरभेटिभ पार्टीले १५४ र लिबरल डेमोक्रेटिक पार्टीलाई ५६ सिट प्राप्त हुने अनुमान गरिएको छ। मत सर्वेक्षणहरूले २०१० देखि सत्ता सम्हालिरहेको कन्जरभेटिभ दलले नराम्रो पराजय भोग्ने देखाएका थिए। मतदाताहरूले १४ वर्षमा पहिलो पटक लेबर पार्टीलाई सत्तामा फर्काउने अपेक्षा गरिएको थियो।

सोही अपेक्षाअनुसारको चुनावी परिणाम देखिएको छ। सन् २०२२ अक्टोबरदेखि प्रधानमन्त्री रहेका कन्जरभेटिभ नेता ऋषि सुनकले आफ्नो पार्टीलाई चुनावमा अगुवाइ गरे पनि नराम्रो पराजय भोग्नुपरेको छ। प्रधानमन्त्री सुनक भने रिचमन्ड र नर्थालर्टन सिटबाट विजयी भएका छन्।

लेबर सरकारको पहिलो प्राथमिकता आर्थिक रूपमा देश र जनतालाई सबल र सक्षम बनाउनु अनि आर्थिक स्थिरता प्रदान गर्नु छ। त्यस्तै, नेसनल हेल्थ सर्भिस (एनएचएस)मा बढ्दै गरेको बिरामीको चाप घटाउन पालो कुर्ने समय (वेटिङ टाइम) घटाउनु, बोर्डर सुरक्षा कमान्ड वा दस्ता बनाउनु प्रमुख प्राथमिकता हुन् ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, असार २१, २०८१  १०:०४
समसामयिक
Weather Update