
काठमाडौं— केन्द्रमा आएको सत्ता समीकरणको फेरबदलपछि लुम्बिनी प्रदेश सरकार संकटमा परेको छ।
नेकपा एमालेले माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका जोखबहादुर महरा नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो।
आज साँझ मुख्यमन्त्री महरालाई एमालेले उनको निवासमा भेटेर समर्थन फिर्ता लिएको जानकारी दिएको हो। साथै एमालेबाट सरकारमा सामेल भएका मन्त्रीहरुले समेत राजीनामा दिएका छन्।
आर्थिक मामिला मन्त्री चेतनारायण आचार्य, शहरी विकास तथा खानेपानी मन्त्री भूमिश्वर ढकाल, आन्तरिक मामिला मन्त्री दिनेश पन्थी, सामाजिक विकास मन्त्री रत्न खत्री र वन तथा वातावरण मन्त्री अर्जुन केसीले राजीनामा दिएका हुन्। एमालेले समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री महरा नेतृत्वको सरकार अल्पमतमा परेको छ।
यता आजै सुदूरपश्चिम सरकारलाई दिएको समर्थन पनि एमालेले फिर्ता लिएको छ। एकीकृत समाजवादीबाट मुख्यमन्त्री बनेका दीर्घ सोडारी नेतृत्वको सरकार अल्पमतमा परेको छ।
एमाले–कांग्रेस मिलेर नयाँ सत्ता समीकरण बनाउने सहमति गरेसँगै त्यसको असर प्रदेशमा देखिन थालेको हो।