-1720098036.jpg)
काठमाडौं— केन्द्रमा सत्ता समीकरण फेरिएसँगै सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।
बिहीबार एमाले प्रदेश संसदीय दलका नेता राजेन्द्रसिंह रावलले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट समेत बाहिरिएको जानकारी गराएका हुन्।
मुख्यमन्त्री दीर्घ सोडारी काठमाडौं रहेका कारण उनलाई फोन गरेर जानकारी गराउँदै सचिवालयमा पत्र बुझाएका हुन्।
त्यस्तै एमालेका ३ मन्त्रीहरुले राजीनामा समेत बुझाएका छन्।
सुदूरपश्चिममा एमालेबाट आर्थिक मामिलामन्त्री सुरेन्द्रबहादुर पाल, आन्तरिक मामिला मन्त्री हिरा सार्की र वन, वातावरण तथा सहकारी मन्त्री वीरबहादुर थापाले राजीनामा बुझाएका हुन्।
केन्द्रमा एमाले–कांग्रेस नेतृत्वको सरकार बनाउने सहमतिसँगै त्यसको असर प्रदेशमा समेत देखिएको हो।
एमालेले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री सोडारी अल्पमतमा परेका छन्।