News Griha :: न्यूजगृह
रौतहटको कटहरिया नगरपालिकाका मेयर-उपमेयरसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा 

काठमाडौं— अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटको कटहरिया नगरपालिकाका मेयर अजय प्रकाश र उपमेयर रीता देवीसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। 

बिहीबार अख्तियारले अधुरो सामुदायिक भवनमा टायल्स र फ्लोरिङको काममा उपभोक्ता समितिसँग मिलेमतो गरेर वास्तविकताभन्दा बढी क्षेत्रफल देखाएर रकम हिनामिना गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको हो। 

मुद्दा दायर हुनेहरुमा प्रमुख प्रशासकीय अधिकृत रामप्रकाश शाहसहित इन्जिनियर राजेशकुमार साह, योजना शाखा प्रमुख रामनरेश प्रसाद यादव, कार्यापलिका सदस्य समिशबिक्रम शाह र मनोज प्रसाद जैसवाल, इन्जिनियर मो. मकसुद आलम, बौद्धिमाई उपभोक्ता समिति अध्यक्ष सरोजकुमार साह, कोषाध्यक्ष बबिता कुमारी चौधरी र सचिव योगेन्द्र साह रहेका छन्। 

अख्तियारका प्रवक्ता नरहरि घिमिरेका अनुसार भुक्तानी सिफारिस भएको नापी किताबमा ११९४ दशमलब ४१ वर्ग मिटर भएको र वास्तविक क्षेत्रफल ४ सय ७३ दशमलब वर्ग मिटरमात्र भएको र त्यसमा अनियमितता भएको दाबीसहित भुद्दा दायर गरेको हो। 

बढी देखाइएको १२ लाख ५२ हजार ९ सय ४१ रूपैयाँ ९५ पैसा बराबरको रकमलाई बिगो दाबी गरिएको छ। 

प्रकाशित मिति: बिहीबार, असार २०, २०८१  १७:३५
Weather Update