![प्रधानमन्त्रीलाई एमालेको आग्रह– दीर्घकालीन असर पर्ने काम नगर्नू [पत्रसहित]](https://newsgriha.com/uploads/posts/shankar pokhrel-uml1694846001.jpg)
काठमाडौं— नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अल्पमतमा परेको भन्दै दीर्घकालीन असर पर्ने काम नगर्न आग्रह गरेको छ।
बुधबार एमालेका मन्त्रीहरुले राजीनामा दिएसँगै अल्पमतमा परेको र विश्वासको मत पाउने आधार नभएको भन्दै दीर्घकालीन असर पर्ने काम नगर्न आग्रह गरेको हो।
एमालेका महासचिव शंकर पोखरेलले आज विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘अहिलेका परिस्थितिमा वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाउने अवस्था नरहेको हुँदा अल्पमतमा परेको सरकारबाट दीर्घकालिन असर पर्ने कुनै काम नगर्न/नगराउन नेकपा एमाले सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गर्दछ।’
त्यस्तै उनले कांग्रेस एमालेको नेतृत्वमा बन्ने राष्ट्रिय सहमतिको सरकार गठनको प्रक्रियामा सहभागी हुन र सहयोग गर्न समेत आग्रह गरेका छन्।
सोमबार राति एमाले र कांग्रेसले राष्ट्रिय सहमतिको सरकार बनाउने सहमति गरेका छन्। त्यससँगै बुधबार एमालेबाट सरकारमा सामेल ८ मन्त्रीहरुले सामूहिक राजीनामा दिएका छन्। एमालेका मन्त्रीहरुले सम्हालेको मन्त्रालयको जिम्मेवारी समेत प्रधानमन्त्रीलाई दिइएको छ।
अल्पमतमा परेपनि प्रधानमन्त्री प्रचण्डले भने विश्वासको मतको तयारी गरिरहेका छन्।