News Griha :: न्यूजगृह
छानबिन समितिले गृहसचिव र आईजीपीलाई छलफलका लागि बोलायो 

काठमाडौं— सहकारी ठगी प्रकरणको छानबिनका लागि गठित संसदीय छानबिन समितिले गृह मन्त्रालयका सचिव र प्रहरी प्रमुख (आईजीपी) लाई छलफलका लागि बोलाएको छ। 

आज बसेको संसदीय छानबिन समितिले थप जानकारी लिन गृहसचिव एकनारायण अर्याल र प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलाई छलफलका लागि बोलाएको हो। 

समितिले आज महालेखापरीक्षक तोयम राय, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका कमलप्रसाद भट्टराई, सहकारी विभागका रजिष्ट्रार पीताम्बर घिमिरेसँग छलफल गरेको समितिका संयोजक सूर्यबहादुर थापाले जानकारी दिए। 

भोलिका लागि देशभर सहकारी समस्यासँग सम्बन्धित मुद्दा का विषयमा थप जानकारी लिन उनीहरुलाई बोलाइएको उनले बताए। 

‘सीआईबीले हेरिरहेको सहकारीसँग सम्बन्धित मुद्दाहरुको बारेमा र देशभरि प्रहरीले ह्याण्डिल गरिरहेको मुद्दाहरुका बारेमा समग्रतामा गृहसचिव र प्रहरी महानिरीक्षकसहित छलफल गर्ने गरी भोलिका लागि बैठक राखेका छौँ,’ थापाले भने। 

यसअघि पनि समितिले कानुन व्यवसायीसहित अन्य सम्बन्धित व्यक्तिहरुसँग समेत छलफल गरेको थियो। 

बैठक भोलि पनि बस्नेछ। सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले निरन्तर संसद् अवरुद्ध पारेपछि त्यसको छानबिनका लागि समिति गठन गरिएको हो। जेठ १५ गते एमाले नेता सूर्य थापाको संयोजकत्वमा गठित ७ सदस्यीय समितिलाई ३ महिनाको समय दिइएको छ। 

प्रकाशित मिति: बिहीबार, असार २०, २०८१  १५:१२
Weather Update