News Griha :: न्यूजगृह
एमालेका मन्त्रीहरुले सम्हालेको मन्त्रालयको कार्यभार प्रधानमन्त्रीलाई 

काठमाडौं— एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै मन्त्रीहरुले राजीनामा दिएपछि एमालेका मन्त्रीहरुको कार्यभार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई तोकिएको छ। 

आज राष्ट्रपति रामचन्द्र पौडेलले मौजुदा मन्त्रिपरिषद्का उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठसहित आठजना मन्त्रीले पदबाट राजीनामा दिएपछि उनीहरूले सम्हालेको मन्त्रालयहरूको कार्यभार प्रधानमन्त्री प्रचण्ड स्वयंले सम्हाल्ने गरी तोकेका हुन्। 

प्रधानमन्त्री दाहालको सिफारिसमा राष्ट्रपतिले प्रधानमन्त्री स्वयंलाई ती मन्त्रालयको कार्यभार तोकेको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

बुधबार राति वर्तमान मन्त्रिपरिषद्का कानुन न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, कृषि तथा पशुपक्षी विकासमन्त्री ज्वालाकुमारी साह, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारी, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरी, खानेपानीमन्त्री राजेन्द्रकुमार राई र रक्षामन्त्री हरिप्रसाद उप्रेतीले बुधबार अपराह्न प्रधानमन्त्री दाहालसमक्ष नेपालको संविधानको धारा ७७ को उपधारा (२) बमोजिम राजीनामा दिएका थिए। 

सोमबार राति कांग्रेस–एमाले मिलेर नयाँ समीकरण अनुसार अघि बढ्ने सहमति गरेसँगै एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो। एमालेले समर्थन फिर्ता लिएसँगै अल्पमतमा परे पनि प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिइ विश्वासको मत लिने तयारी गरेका छन्। तत्काल राजीनामा नदिने प्रधानमन्त्रीको अडानपछि नयाँ सत्ता समीकरण अनुसारको सरकार बन्ने विषय केही पर धकेलिने भएको छ। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, असार २०, २०८१  १४:५९
Weather Update