
काठमाडौं— नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला संविधान संशोधनको पक्षमा देखिएका छन्।
उनले संविधानमा भएका कतिपय प्रावधानहरु नहटाए मुलुक अघि बढ्न नसक्ने भन्दै संविधान सुधार आवश्यक रहेको बताए।
नेपाली कांग्रेस पर्साले वीरगञ्जमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमाले–कांग्रेसबीचको समीकरण बन्नुमा संविधान संशोधनको सहमति नै मुख्य रहेको समेत बताए।
‘संविधान सुधार नगरी देश चल्न सक्दैन भनेर हामी सबैले कुरा गर्यौँ, नागरिक समाजले पनि कुरा गर्न थाल्यो। हामीहरूको प्राथमिकता राजनीतिक स्थायित्व, सुशासन र विकास हो,’ डा. कोइरालाले भने, ‘समानुपातिक र समावेशी कुरालाई बिर्सन हुँदैन। प्रदेशदेखि संघसम्म प्रत्यक्ष निर्वाचनमा जाने र जुन पार्टीले जित्छ उसले सरकार बनाउँछ।’
त्यस्तै अहिलेको नयाँ समीकरण बन्नुमा वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकै हात रहेको स्पष्ट पारे। गत निर्वाचनमा कांग्रेससँग गठबन्धन गरेर ३२ सिट ल्याएको बताउँदै त्यसकै बलमा कहिले एमाले र कहिले कांग्रेससँग सत्ताको काँध फेरेका कारण अहिलेको परिस्थिति निर्माण भएको बताए।
उनले भने, ‘कांग्रेससँग गठबन्धन गरेर ३२ सिट ल्याए, सरकार बनाउने बेला एमालेसँग मिले। एमालेसँगै मिलेर गएको भए भइहाल्थ्यो, हामी प्रतिपक्षमा बस्थ्यौं। दुई महिनापछि कांग्रेससँग मिल्यो भने फेरि एमालेसँग मिल्यो। त्यसपछि हामीले सोचेर, विचार गरेर नै कांग्रेस र एमाले समीकरण गर्ने सहमति गरेको हो।’
त्यसैगरी यसअघि केन्द्रमा माओवादी गठबन्धन हुँदा पनि कोशीमा कांग्रेस–एमाले गठबन्धन सरकार बनेका बेला आफू त्यसको पक्षमा रहँदा पार्टीभित्रैबाट आफ्नो आलोचना भएको स्मरण गरे। साथै कोशीकै आधारमा केन्द्रमा पनि एमालेसँग मिलेर गएको भए अहिलेसम्म मुलुकले लय समात्न सक्ने उनको दाबी छ।
‘कोशीमा एमालेसँग समीकरण पनि गरिएको थियो। त्यस बेला मलाई पार्टीमा नेताहरूले गाली पनि गरे,’ उनले भने, ‘त्यही बेला केन्द्रमा पनि गठबन्धन गरेको भए अहिलेको अवस्था त आउँदैनथ्यो।’