
काठमाडौं— नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अहिलेको नयाँ परिस्थिति बन्नुमा वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नै मुख्य कारण रहेको बताएका छन्।
बिहीबार विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै महामन्त्री थापाले निर्वाचनपछि पटकपटक प्रचण्डले गठबन्धन फेरेका कारण अहिलेको परिस्थिति निर्माण भएको बताए। त्यस्तै आफ्नो चाहना कांग्रेस प्रतिपक्षमै बस्ने रहे पनि नयाँ परिस्थिति निर्माण भएका कारण सोही अनुसार अघि बढ्नुपरेको बताए।
‘सरकार बनेको २–४ महिना हुँदा नहुँदै गठबन्धन बन्थ्यो? बन्दैनथ्यो नि। प्रचण्डको यतिधेरै अस्थिर चरित्र व्यवहार नभएको भए,’ उनले अघि भने, ‘अहिलेको परिस्थितिको सम्म्पूर्ण कारण भनेको वर्तमान प्रधानमन्त्री प्रचण्डको अस्थिरताको कारणले हो, नयाँ सरकार बनेपछि गठबन्धन बनेपछि कांग्रेसका कसैलाई नयाँ गठबन्धन बनोस भन्ने चाहाना थियो होला, मेरो चाहाना प्रतिपक्षमा रहनु नै उपयुक्त हुन्छ भन्ने थियो।’
यसअघि एमालेसँग नयाँ गठबन्धनमा गैसकेपछि पनि प्रचण्डले नयाँ रणनीति बनाउन थालेपछिको परिणाम अहिलेको अवस्था रहेको चित्रण गरे। संसद्मा कांग्रेसले गराएको सचेततालाई स्मरण गर्दै महामन्त्री थापाले कुनै दलले पनि ढुक्कका साथ विश्वास गर्ने अवस्था नरहेको कारण नयाँ समीकरण अनुसार जानुपरेको औँल्याए।
‘एमालेसँगको सरकारमा बसिसकेपछि पनि फेरि नयाँ खालको लसपस गर्नका लागि हातखुट्टा पसार्न थालिसके पछाडि अहिलेको दुर्घटना निम्त्याएको हो,’ उनले भने, ‘नेपालको राजनीतिमा प्रचण्ड यतिधेरै अस्थिर रहनुभयो कि उहाँसँग कसैको पनि विश्वास रहेन, त्यो कारणले अहिलेको परिस्थिति निर्माण भएको हो।’