
काठमाडौं— हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले आज दिउँसो देशभर साधारणदेखि पूर्णतया बदली रहने बताएको छ।
विभागका अनुसार आज अपरान्ह कोशी, बागमती, गण्डकी , लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको तथा राति देशभर साधारणतया देखि पूर्णतया बदली रहने छ। कोशी र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ।
आगामी २४ घण्टामा कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाउँदै विभागले ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढीपहिरोको जोखिम वा क्षतिबाट बच्न आग्रह गरेको छ।
भारी वर्षाबाट ती क्षेत्रमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले सतर्कता अपनाउन पनि विभागले अनुरोध गरेको छ।













