
पर्सा— पर्सा प्रहरीले बाराका दुई जना ब्यक्तिको हत्यामा संलग्न ३ जना लाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा बाराको कलैया उपमहानगरपालिका वडा नं ५ बस्ने घटनाको मुख्य योजनाकार ३३ वर्षीय लक्ष्मण कुमार प्रजापति, पर्साको जगरनाथपुर गाउँपालिका वडा नं ५ बस्ने मुख्य योजनाकार ३२ वर्षीय सन्तोष प्रसाद कुम्हार र ४५ वर्षीय महादेव महतो नुनिया छन्।
तीनै जनालाई मङ्गलबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दीपक भारतीले जानकारी दिए।
गत जेठ २९ गते नेपाल भारत सिमानाको दशगजाभन्दा ८० मिटर नेपालको सीमाभित्र उत्तर पूर्वतर्फ रहेको खाली जग्गामा दुर्गन्धित अवस्थामा बारा कलैया उपमहानगरपालिका वडा नं ६ बस्ने ६० वर्षीय रामएकवाल पण्डित कुम्हार र आदर्शकोतवाल गाउँपालिका वडा नं ७ घर भई कलैया बस्दै आएका ४० वर्षीय सुरेश ठाकुर लोहारको शव फेला परेको थियो। उनीहरुको हत्या आराेपमा प्रहीले तीन जनालाई पक्राउ गरि सार्वजनिक गरेको हो।
अनुसन्धानको क्रममा पारिवारिक रिसइबी तथा जग्गाजमिनको विवादको विषयलाई लिएर योजनाबद्ध तरिकाले हत्या भएको कुरा खुल्न आएको प्रहरीले जनाएको छ।













