News Griha :: न्यूजगृह
बाढी बस्तीमा पसेपछि कैलालीको भजनी नगरक्षेत्र जलमग्न
फाइल।

टीकापुर (कैलाली)— कन्द्रा र काढा नदीको बाढी बस्तीमा पसेपछि कैलालीको भजनी नगरपालिका जलमग्न भएको छ। घर डुबानमा परेपछि भजनीवासीको विचल्ली भएको छ। भजनीमा सबै वडा बाढीले जलमग्न भएका नगर प्रमुख केवल चौधरीले जानकारी दिए।

बाढी बस्तीमा पसेपछि तीन हजार बढी घर डुबानमा परेका उनले जानकारी दिए। उनका अनुसार वडा नं १ देखि ९ सम्म सबै वडामा रहेका घर डुबानमा परेका छन्। बाढी घरमा पसेपछि नागरिक आफन्तको घर, उच्च घर, सडकमा निस्केका छन्। नगरप्रमुख चौधरीले भने, 'डुबान क्षेत्रका केही परिवार वनमा बसेका थिए, केही दिनअघि वन विभागले टहरा हटायो, अब कहाँ बस्नुस् भन्ने। पालिकाले हजारौँ परिवार उद्धार गर्नसक्ने अवस्था पनि छैन।'

हरेक वर्ष बाढी आउने भजनीमा सबै वडा डुबानमा परेपछि पालिकालाई उद्धारमा समेत समस्या हुने गरेको छ। भजनी नगरपालिका मोहना, पथरैया, कन्द्रा र काढा नदीको चपेटामा पर्ने गर्दछ। चैधरीका अनुसार अहिलेसम्म धनजनको क्षतिको खबर छैन। घरमा पानी पसेकाले मानिसका लुगाकपडा, भाडाकुँडा, खाद्यान्न भिजेका, बगेकाजस्ता क्षति भएको उनले जानकारी दिए। नगर प्रमुख चौधरीले भने, 'पालिका मात्रले कहाँकहाँ उद्धार गर्ने, कसरी व्यवस्था गर्ने ? हामी त समस्यामा प-यौँ।'

बाढी घरमा पसेपछि वडा नं २ का सन्देश चौधरीको परिवार बुधबार दिउँसोदेखि सडकमा बसेको छ। लगातारको वर्षासँगै आएको बाढीले जोशीपुर गाउँपालिका ३ भितरियामा पौने दुई सय घर डुबानमा परेका छन् । काडा नदीमा आएको बाढी बस्तीमा पसेपछि भितरिया गाउँका एक सय ७० बढी घर डुबानमा परेको स्थानीय भागीराम डगौराले बताए। बाढीको सतह बढ्दै गएपछि कोही परिवार सडकमा निस्केको र कोही घरभित्रै बसिरहेको उनले जानकारी दिए।

यसैगरी लगातारको वर्षापछि कैलारी गाउँपालिका–७ रामपुरमा बाढीको उच्च जोखिम रहेका घरपरिवार र सरसामानलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको प्रहरीले जनाएको छ। रामपुरमा तीन दर्जन बढी घरमा पानी पसेको छ। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, असार २०, २०८१  ०८:५५
Weather Update