News Griha :: न्यूजगृह
असई थमन विकको हत्या आरोपमा पूर्व सांसद यादव पुर्पक्षका लागि जेल चलान

जलेश्वर— जिल्ला अदालत महोत्तरीले हत्याको आरोपमा पक्राउ परेका मधेस प्रदेश सभाका पूर्व प्रदेशसभा सदस्य कौशलकुमार यादवलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ। 

महोत्तरीमा कार्यरत सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) थमन विकको हत्या आरोपमा पक्राउ यादव पक्राउ परेका थिए। 

मधेस आन्दोलनका क्रममा विसं २०७२ भदौ २५ गते विकको हत्या भएको थियो। 

उक्त प्रकरणमा संलग्न भएको आरोपमा गत शनिबार पक्राउ परेका पूर्वसंविधानसभा सदस्य समेत यादवलाई न्यायाधीश फनेश्वरी घिमिरेको एकल इजलासले आज कर्तव्य ज्यान मुद्दामा पुर्पक्षका लागि जेल चलान गरेको हो। 

यादवलाई आगजनी मुद्दामा पाँच हजार जरिवानासमेत गरिएको स्रेस्तेदार नुतन झाले जानकारी दिए।

यादव तत्कालीन मधेसी जनअधिकार फोरम नेपालबाट २०६४ सालको संविधानसभा निर्वाचनमा महोत्तरीको क्षेत्र नं ४ र २०७४ सालको निर्वाचनमा महोत्तरी निर्वाचन क्षेत्र नं ४ (क) बाट प्रदेशसभामा निर्वाचित भएका थिए। 

महोत्तरी जिल्ला अदालतले विसं २०८० मङ्सिर २८ गते सशस्त्र प्रहरी सहायक निरीक्षक विकको हत्या प्रकरणमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल मधेस प्रदेशसभा संसदीय दलका नेता अभिराम शर्मासहित सातजनालाई जन्मकैदको फैसला सुनाएको थियो। 

सोही मुद्दामा महोत्तरी क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधिसभा सांसद लक्ष्मी महतो कोइरी र पवन कापरलाई सफाइ दिएको थियो। 

प्रकाशित मिति: बुधबार, असार १९, २०८१  १८:४७
Weather Update