
काठमाडौं— नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ।
मंगलबार बसेको एमाले सचिवालय बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मार्ग प्रशस्त गर्न अपिल गरेको थियो।
आजसम्मका लागि मार्गप्रशस्त गर्न समय दिएको तर प्रधानमन्त्रीबाट त्यसको निर्णय नआएपछि समर्थन आजै फिर्ता लिने निर्णयमा एमाले पुगेको पार्टीका प्रमुख सचेतक महेश बर्तौलाले न्यूजगृहलाई जानकारी दिए। उनका अनुसार केहीबेरमा प्रधानमन्त्री प्रचण्डलाई भेटेरै समर्थन फिर्तासहित मन्त्रीहरुलाई फिर्ता बोलाउने तयारी गरेको बताए।
‘हामीले प्रधानमन्त्रीज्यूलाई आजसम्म मार्गप्रशस्त गर्न समय दिएका थियौँ, तर उहाँबाट त्यस्तो कुनै निर्णय नआएका कारण हामी आजै उहाँ नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णयमा पुगेका छौँ,’ बर्तौलाले न्यूजगृहसँग भने, ‘हामी केहीबेरमा उहाँलाई भेटेर औपचारिक पत्र नै बुझाएर समर्थनसहित मन्त्री फिर्ता बोलाएको जानकारी गराउँदैछौँ।’
सोमबार राति एमाले र कांग्रेस मिलेर नयाँ सरकार बनाउने समीकरण बनेको थियो। एमालेले मार्गप्रशस्त गरेर नयाँ सरकार बनाउने वातावरण बनाउन आग्रह गरे पनि प्रधानमन्त्री प्रचण्ड भने विश्वासको मत लिने तयारीमा देखिएका छन्। संवैधानिक अधिकार प्रयोग गर्दै प्रधानमन्त्रीले विश्वासको मत लिने अडान कायम राखे कांग्रेस–एमालेको नेतृत्वमा नयाँ सरकार बन्ने समय पर धकेलिने देखिन्छ।













