News Griha :: न्यूजगृह
यस्तो छ रास्वपाले केन्द्रीय समिति बैठक लाइभ नगर्नुको अन्तर्य 

काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री डा. मुकुल ढकालले तयार पारेको प्रतिवेदनले अहिले राजनीतिकवृत्तमा चर्चा पाइरहेको छ।

देशभरका ३८ जिल्ला घुमेर रास्वपाको वास्तविक अवस्था पत्ता लगाएर प्रतिवेदन तयार पारेको महामन्त्री मुकुलको दाबी छ। 

उनले देशदौडाहबाट फर्किएर गत बुधबार उपप्रधान एवं गृहमन्त्री समेत रहेका पार्टी सभापति रवि लामिछानेलाई प्रतिवेदन बुझाए। बुझाइएको प्रतिवेदनका केही अंशहरु पार्टीले  सार्वजनिक गर्नुअगावै बाहिरिएपछि पार्टीले उनलाई स्पष्टीकरण समेत सोधेको छ। यता आफ्नो राजनीतिक जीवन नै धरापमा पार्नसक्ने वास्तविक तथ्यहरु आफूले प्रतिवेदनमा उल्लेख गरेका कारण त्यसलाई हुबहु सार्वजनिक गर्नुपर्ने मुकुलको अडान थियो। 

उनले उक्त प्रतिवेदन पार्टीले गोप्य तरिकाले नभइ प्रत्यक्ष प्रशारण (लाइभ) नै गरेर प्रस्तुत गर्नुपर्ने धारणा राख्दै आइरहेका थिए। प्रतिवेदन नै सार्वजनिक नहुने हो कि भन्ने आशंकामा रहेका महामन्त्री ढकालको आशंका मंगलबारको पार्टी सचिवालय बैठकले ‘क्लियर’ पारिदियो, अर्थात् प्रतिवेदन सार्वजनिक हुने भयो। 

आज बिहान सोही प्रयोजनका लागि केन्द्रीय कमिटी बैठक बसेपनि प्रत्यक्ष प्रशारण गर्ने विषयमा भने पार्टीले उक्त निर्णय अस्वीकार गरेपछि बैठकमै मुकुलले मुखमा टेप लगाएर बसे। आफ्नो अभिव्यक्ति स्वतन्त्रता नै हनन् भएको दाबी गरेका मुकुलकै अघि सहमहामन्त्री कबिन्द्र बुर्लाकोटीले उक्त ३३ पेजको प्रतिवेदन सार्वजनिक भयो। त्यसमा अहिले केन्द्रीय सदस्यहरुले आ–आफ्नो धारणा राखिरहेका छन्। 

आफ्नो राजनीतिक जीवन नै धरापमा पर्ने भनिएको उक्त प्रतिवेदनको पूर्णपाठमा खास के छ? भन्ने चौतर्फी चर्चा भइरहेको छ। यसैबीच पार्टीका सहप्रवक्ता एवं सांसद मनिष झाले उक्त प्रतिवेदन सार्वजनिक गर्र्दा लाइभ नगर्नुको अन्तर्य खोलेका छन्। 

बैठक चलिरहँदा पत्रकारहरुसँग कुरा गर्दै उनले पार्टीको प्रतिवेदन पहिला पार्टी बैठकमा सार्वजनिक गर्ने र त्यसपछि मात्रै बाहिर ल्याउने भन्दै प्रत्यक्ष प्रशारण नगरिएको स्पष्ट पारे।

महामन्त्रीको प्रतिवेदन पार्टीका लागि रणनीतिक र संवेदनशील हुने भएकाले त्यसलाई पहिले नै सार्वजनिक गरिनु उपयुक्त नहुने भन्दै बहुमत सदस्यले लार्ईभ गर्ने निर्णय अस्वीकार गरेको उनले बताए। 

‘हामीले राजनीतिका कतिपय कुरालाई संवेदनशील र रणनीतिक रुपमा पनि बुझ्नुपर्ने हुन्छ। तसर्थ पहिला हामी केन्द्रीय समितिमा त्यो प्रतिवेदन रिभ्यू गरौँ र सबैले धारणा राखेर त्यसलाई सार्वजनिक गरौँ भन्ने धारणा पार्टीको रह्यो,’ उनले भने, ‘सार्र्वजनिक गरिसकेपछि त्यसको छलफल त्यति व्यवहारिक हुँदैन भन्दै सभापति र महामन्त्रीको प्रस्ताव हामी सबैले नकार्यौँ।’

सो क्रममा सभापति लामिछानेले महामन्त्रीलाई सार्वजनिक गरेर अन्याय हुन नदिने बताएको उनले बताए। डेढ घण्टा ३३ पेजको प्रतिवेदन सहमहामन्त्री बुर्लाकोटीले वाचन गरेपछि अहिले त्यसमा छलफल भइरहेको छ। 

यता बाहिर मुकुललाई महामन्त्रीबाट हटाउँदै सन्तोष परियारलाई महामन्त्री र सोविता गौतमलाई प्रमुख सचेतकको जिम्मेवारी दिने चर्चा चलेको थियो। तर त्यसमा कुनै सत्यता नभएको उनले स्पष्ट पारे। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, असार १९, २०८१  १५:३९
Weather Update