News Griha :: न्यूजगृह
भारतमा धार्मिक सभामा भएको भागदौडमा मृत्यु हुनेको संख्या १२१ पुग्यो

काठमाडौं— भारतको उत्तर प्रदेशमा आयोजित हिन्दु धार्मिक सभामा भएको भागदौडमा कारण मृत्यु हुनेको संख्या १२१ पुगेको छ। 

उत्तर प्रदेशस्थित हातरसको रतिभानपुरमा रहेको एक सत्संगमा सहभागी श्रद्धालुहरुको मंगलबार भागदौड मच्चिएको थियो। सो क्रममा बुधबार थप २४ जनाको मृत्यु भएसँगै मृतक संख्या १२१ पुगेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।  

प्रहरी प्रतिवेदन अनुसार भारतको उत्तर प्रदेश राज्यमा भएको सभामा दुई लाख ५० हजारभन्दा बढी धर्मावलम्बीहरूले भाग लिएका समय एक्कासी भागदौड हुँदा ठूलो सङ्ख्यामा हताहत भएको हो। 

घटनाको केही समयपश्चात बुधबार बिहान फ्याँकिएका कपडा र हराएका जुत्ताहरू राजमार्गको छेउमा रहेको खुला मैदानमा छरिएका भेटिएको थियो। 

अधिकारीहरूका अनुसार उपासकहरूले प्रचारकको पाइलाबाट माटो सङ्कलन गर्ने प्रयास गर्दा भागदौड सुरु भएको बताएका छन् भने कतिपयले धुलोको आँधी आउँदा मानिसहरूबीच भागदौड मच्चिएको बताएका छन्।

‘महिला र बालबालिकासहित सम्पूर्ण भीड एकैचोटि कार्यक्रम स्थलबाट निस्किए। सभामा पर्याप्त ठाउँ थिएन र मानिसहरू एकअर्कामाथी थिचिएका थिए,’ सुरक्षा सेवामा खटिएकी प्रहरी अधिकारी शीला मौर्यले बताइन्।

धेरैको एकले अर्कालाई कुल्चिएर, एकमाथि अर्को ढलेर र केही मानिस भागदौडमा सडक किनारको नालीमा खसेर मृत्यु भएको थियो।

मृत्यु हुनेमा सात बालबालिका, एक पुरुष र बाँकी सबै महिलाहरु रहेको बताइएको छ। 

उत्तर प्रदेशको राज्य विपद् व्यवस्थापन केन्द्र, राहत आयुक्तको कार्यालयले बुधबार बिहान मृतकको सूची जारी गरेको छ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, असार १९, २०८१  १४:०२
समसामयिक
Weather Update