News Griha :: न्यूजगृह
रविलाई विश्वप्रकाशको जवाफः अझै गृहमन्त्री हुनुहुन्छ भ्रष्टाचारको फाइल खोल्नुस् 

काठमाडौं— नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई भ्रष्टाचारका फाइलहरु खोल्न आग्रह गरेका छन्। 

बुधबार बिहान पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानिलकण्ठमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै सो कुरा बताएका हुन्। 

यसअघि मंगलबार गृहमन्त्री लामिछानेले आफूहरुले भ्रष्टाचारको फाइल खोलेका कारण सत्ता समीकरण फेरबदल गर्न लागिएको टिप्पणी गरेका थिए। 

उक्त भनाइप्रति लक्षित गर्दै महामन्त्री शर्र्माले भने, ‘साथीहरुलाई के लाग्या होला भने हामी भ्रष्टाचारको फाइल खोल्दैथ्यौँ, हामीलाई सरकारबाट हटाइयो। अहिले पनि त हुनुहुन्छ गृहमन्त्री। आज साँझसम्म गृहमन्त्री होला प्रधानमन्त्रीले राजीनामा दिनुभएमा। यदी नदिनुभएमा एक महिना हुनुहोला। कुनै फाइलहरुमा कसैका बारेमा आग्रह पूर्वाग्रह राख्नुहुन्न। को कुन आस्थामा रहनुहुन्छ त्यो अलग कुरा हो। तर भ्रष्टाचारलाई नियन्त्रण गर्ने कुरामा सबैभन्दा बलियो कानुन बनाउने को भने कांग्रेस।’ 

त्यस्तै अहिले बन्दै गरेको कांग्रेस एमाले गठबन्धनको सरकारले पनि भ्रष्टाचारको सन्दर्भमा काम गर्नुपर्ने बताए। 

‘अहिले बन्ने गठबन्धन सरकारले भ्रष्टाचार नियन्त्रणका विषयमा पनि बलियो ढंगले कार्य गर्नुपर्छ,’ उनले भने। 

आज बसेको कांग्रेस बैठकले सोमबार राति भएको कांग्रेस–एमालेको सहकार्यमा सरकार बन्ने निर्णय अनुमोदन गरेको छ। त्यस्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मार्गप्रशस्त गरेर नयाँ सरकार गठनको वातावरण बनाउन आग्रह गरेको छ। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, असार १९, २०८१  १२:३१
Weather Update