काठमाडौं— काठमाडौं महानगरपालिकाले शैक्षिक सत्र २०८० देखि सामुदायिक विद्यालयमा माध्यामिक तहसम्म छोटो अवधिको सीपमूलक तालिम कार्यक्रमको शुभारम्भ गरेको छ ।
मंगलबार काठमाडौंमा विशेष कार्यक्रम गर्दै महानगरले पाठ्यपुस्तकबाट प्राप्त हुने सैद्धान्तिक ज्ञानसँगै जीवन उपयोगी, सीपमूलक तथा व्यवहारिक शिक्षा प्रदान गरेर विद्यालय तह पूरा गर्दा कम्तीमा एक प्राविधिक क्षेत्रमा स्वरोजगार हुन सक्ने जनशक्ति तयार गर्न यस प्रकारको कार्यक्रमको थालनी गरेको जनाएको हो ।
‘शिक्षामा सीप, सामुदायिक विद्यालयमा छोटो अवधिको सीपमूलक तालिम : पुस्तकबिहीन शुक्रबार’ कार्यक्रमलाई प्रभावकारी बनाइने महानगरका प्रमुख (मेयर) बालेन साहले बताए ।
९० घण्टे तालिमका लागि कृषि तथा शहरी खेती, सौन्दर्यकला, काष्ठकला, पाककलालगायत १० वटा क्षेत्र निर्धारण गरिएको छ । उक्त कार्यक्रम सञ्चालनका लागि विद्यालयलाई अनुदान रकम उपलब्ध गराइने मेयर साहले जानकारी दिए ।
विद्यालयस्तरबाटै सुरु गरिने यस्ता कार्यक्रमबाट विद्यार्थीलाई स्वरोजगार बनाउन मद्दत पुग्ने उनको भनाइ छ ।













