News Griha :: न्यूजगृह
रास्वपाको केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं— पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक बस्दै छ। बैठक आज बिहान ८ बजे पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बस्ने छ।

बैठकमा समसामयिक राजनीति र पार्टी महामन्त्री मुकुल ढकालको समीक्षा प्रतिवेदनमाथि छलफल हुने रास्वपा सांसद समेत रहेकी निशा डाँगीले जानकारी दिइन् ।

कांग्रेस–एमालेले सत्ता गठबन्धन गरेपछि सरकारको नेतृत्वकर्ता दल माओवादी केन्द्रसँगै साझेदार रास्वपा पनि दबाबमा परेको छ। यद्यपि माओवादी केन्द्र र रास्वपा दुवैले तत्काल राजीनामा नदिने रणनीति लिएका छन्।

मङ्गलबार बसेको रास्वपा पदाधिकारी बैठकले कांग्रेस–एमाले गठबन्धनले राजनीतिक स्थायित्व नदिने भन्दै उनीहरूको गठबन्धनमा सहभागी नहुने र तत्काल सरकार पनि नछोड्ने निर्णय गरेको थियो।

प्रचण्ड नेतृत्वको सरकारमा रास्वपाका चार मन्त्री छन्। पार्टी सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री छन्। यसैगरी उपसभापति डोलप्रसाद अर्याल श्रम तथा रोजगार मन्त्री, सुमना श्रेष्ठ शिक्षा मन्त्री र विराजभक्त श्रेष्ठ युवा तथा खेलकुद मन्त्री छन्।

प्रकाशित मिति: बुधबार, असार १९, २०८१  ०७:४४
Weather Update