
काठमाडौं— सरकारले ८ वर्षपछि नुनको भाउ बढाएको छ।
साल्ट ट्रेडिङ कर्पोरेसनका नायब प्रमुख कार्यकारी अधिकृत कुमार राजभण्डारीका अनुसार कम्पनी सञ्चालक समितिको मङ्गलबार बसेको बैठकले नुनको भाउ बढाउने निर्णय गरेको हो।
यसअघि २० रुपैयाँ रहेको आयो नुनको उपभोक्ता मूल्य अब २६ रुपैयाँ प्रतिकेजी पुर्याइएको छ। थोक मूल्य प्रतिकिलो रहेको आयो नुनको अब थोक बिक्री मूल्य २३ रुपैयाँ पुर्याइएको छ।
न्यु शक्ति नुनको भाउ किलोको थोकमा १७ र उपभोक्ता मूल्य २० रुपैयाँ पुगेको छ। भानु नुन किलो ९ रुपैयाँ पुगेको छ।
राजभण्डारीका अनुसार मूल्य बढेपनि कम्पनीलाई भने अझै पनि घाटा छ। यसअघि २८ रुपैयाँ प्रतिकिलो लागतको नुनलाई कम्पनीले १८.५० रुपैयाँमा बेचिरहेको थियो। अब भने थोक बिक्रीमा २३ रुपैयाँ तोकिएको छ। यस अवस्थामा पनि कम्पनीलाई प्रतिकिलो ५ रुपैयाँ घाटा हुने उनले जानकारी दिए।
सरकारले जनतालाई दिएको सेवा भएका कारण नुनमा नाफा नखोजिएको उनको भनाइ छ। तर, यसमा बिस्तारै मूल्य समायोजन गर्दै घाटा चाहिँ नहुने अवस्थामा जाने योजना रहेको उनले बताए।
हेर्नुहोस् विज्ञप्ति














