News Griha :: न्यूजगृह
दलगत स्वार्थबाट माथि उठेर राष्ट्रको हितमा काम गर्नुपर्छः शेखर कोइराला 
फाइल तस्बिर

पर्सा— नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले दलगत स्वार्थबाट माथि उठेर राष्ट्रको हितमा काम गर्नुपर्ने बताएका छन्। 

नेपाली कांग्रेस पर्सा क्षेत्र नं २ क्षत्रीय समितिले आज वीरगञ्जमा आयोजना गरेको स्व गिरिजाप्रसाद कोइरालाको शालिक अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले प्रधानमन्त्री र मन्त्री को बन्ने विषयमा नेपाली कांग्रेस र नेकपा (एमाले) का नेता अल्झिन नहुने बताए। नेपाली नागरिक र राष्ट्र हितलाई प्राथमिकतामा राख्न उनले दुवै पार्टीका शीर्ष नेतृत्वलाई सुझाव दिए।

अब बन्ने कांग्रेस र एमालेसहितको सरकारले सबैभन्दा पहिला राजनीतिभित्र हुने अपराधीकरणलाई समाप्त पार्न जरुरी रहेको नेता कोइरालाको भनाइ थियो। 

कार्यक्रममा नेपाली कांग्रेसका सहमहामन्त्री बद्रीप्रसाद पाण्डे, केन्द्रीय सदस्य रमेश रिजाल, अजय चौरसिया, शङ्कर भण्डारीलगायतले नेपाली राजनीतिका शिखर पुरुष एवं पार्टीका पूर्वसभापति स्व गिरिजाप्रसाद कोइरालाले पार्टी र राष्ट्रलाई बलियो बनाउन खेल्नुभएको भूमिकाबारे आ–आफ्नो विचार राखेका थिए।  

वीरगञ्जको छपकैयाको इदगाह चोकमा स्व कोइरालाको पूर्णकदको सालिक पुनःनिर्माण गरिएको हो। 

प्रकाशित मिति: मंगलबार, असार १८, २०८१  १९:५६
Weather Update