-1719918594.jpg)
काठमाडौं— नेकपा एमालेले नयाँ सरकारको गठनका लागि मार्गप्रशस्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई आह्वान गर्ने निर्णय गरेको छ।
आज बसेको एमाले सचिवालय बैठकले प्रधानमन्त्रीलाई मार्गप्रशस्त गर्न आह्वान गर्नेसहित तीन निर्णय गरेको एमाले सचिव योगेश भट्टराईले न्यूजगृहलाई जानकारी दिए।
‘आजको बैठकले मुलतः प्रधानमन्त्रीलाई मार्गप्रशस्त गरेर नयाँ सरकार गठनको वातावरण बनाउन आह्वान गर्ने गरेको छ,’ उनले भने।
बैठकमा अध्यक्ष केपी शर्मा ओलीले गएराति भएको एमाले–कांग्रेसबीच नयाँ समीकरण बनाएर जाने विषयमा ‘ब्रिफिङ’ गरेका थिए।
त्यसपछि उक्त निर्णयमा पार्टीले समर्थन गर्ने निर्णय गरेको छ। त्यस्तै कांग्रेस सभापति शेरबहादुर देउवासँगको सहमती अनुसार बन्ने नयाँ सरकारमा सामेल हुन सबै दलहरुलाई आह्वान गर्ने निर्णय भएको उनले बताए।
‘आजको बैठकमा अध्यक्षले हिजो राति भएको सहमतीबारे ब्रिफिङ गर्नुभयो। त्यसमा पार्टीले समर्थन गर्ने निर्णय गरेको छ,’ उनले भने, ‘साथै संसद्मा प्रतिनिधित्व गर्ने सबै दलहरुलाई अब बन्ने सरकारलाई समर्थन गर्न आह्वान गर्ने निर्णय भएको छ।’
सोमबार राति ७ बुँदे समझदारी गर्दै एमाले–कांग्रेसबीच नयाँ सरकार गठनको गर्ने सहमती भएको छ। यता प्रधानमन्त्री प्रचण्ड भने राजीनामा भन्दा पनि विश्वासको मत लिने मनसायमा देखिएका छन्। आजै प्रधानमन्त्री प्रचण्डले केही मन्त्रीहरुलाई सिंहदरबार बोलाएर निरन्तर काम गर्न आग्रह गरेका छन्।