1687253965.png)
काठमाडौं— राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले एमाले–कांग्रेस मिलेर सत्ताको नयाँ समीकरण अनुसारको सरकार बनाउने निर्णय स्वागत योग्य रहेको बताएको छ।
आज बसेको राप्रपाको पदाधिकारी बैठकले एमाले–कांग्रेसको सहकार्यमा सरकार बन्ने निर्णय सकारात्मक रहेको निष्कर्ष निकालेको हो।
त्यसो त यसअघि पनि राप्रपाले संसद्को पहिलो ठूलो दल कांग्रेस र दोस्रो ठूलो दल नेकपा एमाले मिलेर सरकार बनाउनुपर्ने धारणा राख्दै आइरहेको थियो।
सोमबार राति कांग्रेस एमाले मिलेर सरकार बनाउने सहमतीपछि आज राप्रपाले पदाधिकारीहरुसँग छलफल गरेको थियो।
छलफलपछि सञ्चारकर्र्मीहरुसँग कुरा गर्र्दै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले भने, ‘नेपाली कांग्रेस र एमालेले नयाँ सहमती बनाएको समाचार आइरहेको छ। त्यो सहमतीको मूल प्वाइन्ट भनेको संविधान संशोधन रहेको छ। संविधान संशोधनका लागि मुख्य दल र दोस्रो दल मिलेर सरकार निर्माण गर्ने सहमति हुनु प्रारम्भिक रुपमा स्वागतयोग्य हो।’
त्यस्तै वर्तमान सरकार आगामी ३ वर्ष नै जाने बाहिर चर्चा गरिए पनि त्यस्तो हुन नसक्ने उनको दाबी रहेको छ। उनले ठूला पार्टीहरु मिलेर राजनीतिक स्थायित्व दिने कुरामा आफूहरु विश्वस्त नरहेको समेत स्पष्ट पारे।
‘यो सहकार्य ३ वर्षसम्म जान्छ भन्ने आम मानिसलाई लाग्न सक्छ, तर यो ६ महिनापछि परिवर्तन हुन पनि सक्छ,’ लिङ्देनको तर्क छ।
यसैगरी एमाले–कांग्रेसको सरकार बन्ने र त्यसभित्र हुने सहमतीका आधारमा मात्रै सरकारमा जाने वा नजाने भन्ने विषयमा सोच्ने उनको तर्क रहेको छ।