News Griha :: न्यूजगृह
संसदीय छानबिन समितिले मुख्य राजनीतिक दलसँग सुझाव माग्ने 
फाइल तस्बिर

काठमाडौं— सहकारी ठगी प्रकरणको छानबिनका लागि गठित विशेष संसदीय छानबिन समितिले मुख्य राजनीतिक दलहरुसँग सुझाव माग्ने भएको छ।

मंगलबार बसेको समितिको आठौँ बैठकले सहकारी ठगीको छानबिनका लागि सहयोगका लागि राष्ट्रिय मान्यता प्राप्त दलका शीर्ष नेताहरुसँग जवाफ माग्ने निर्णय गरेको हो। 

आज बसेको बैठकपछि बोल्दै समितिका संयोजक सूर्यबहादुर थापाले प्रतिनिधि सभाबाट पाएको कार्र्यादेश अनुसार थप सहजताका लागि सुझावका लागि पत्राचार गर्ने निर्णय गरेको बताए। 

थापाले भने, ‘सहकारी क्षेत्रसँग सम्बन्धित खासगरी प्रतिनिधि सभाले हामीलाई प्रदान गरेको चार बुँदे कार्यादेशमा केन्द्रित भएर यो क्षेत्रका समस्या समाधान गर्नका निम्ति प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने, राष्ट्रिय राजनीतिक मान्यता प्राप्त दलहरूलाई समस्याको बुझाइ र समाधानका उपायहरू लिखित रूपमा उपलब्ध गराउनुहुन पत्राचार गर्ने निर्णय भएको छ।’  

आजको बैठकमा सहकारीका समस्याबारे सदस्यहरुसँग जानकारी लिने र छानबिनका बारेमा थप छलफल भएको उनले बताए। 

गत जेठ १५ गते गठित छानबिन समितिले ३ महिनाको समय पाएको छ। हालसम्म विभिन्न समस्याग्रस्त सहकारीको फाइल मगाउने, विज्ञहरुसँग कानुनी परामर्श गर्ने लगायतका काम समितिले गरेको छ। 

समितिको अर्को बैठक आगामी असार १८ गते बिहीबार बस्ने थापाले बताए।

प्रकाशित मिति: मंगलबार, असार १८, २०८१  १६:४१
Weather Update