
काठमाडौं— अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा महानगरपालिका कार्यालयमा छापा मारेको छ।
मणिपाल शिक्षण अस्पताललाई राजश्व छुट दिएको भन्दै अख्तियारको टोलीले मंगलबार दिउँसो महानगरको कार्यालयमा छापा मारेको हो।
राजश्व छुटसम्बन्धी परेको उजुरीका आधारमा त्यहाँ छापा मारेर कागजात नियन्त्रण गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयका सूचना अधिकारी जगदिश चन्द्र शिवाकोटीले न्यूजगृहलाई जानकारी दिए।
‘महानगरले मणिपाल शिक्षण अस्पताललाई राजश्व छुट दिएको विषयमा उजुरी परेको थियो,’ उनले न्यूजगृहसँग भने, ‘आज अख्तियारको टोली त्यहाँ पुगेर कागजात नियन्त्रण गरेको हो।’
उनका अनुसार महानगरले मणिपाललाई २० करोड राजश्व छुट दिएको भन्दै उजुरी परेपछि अख्तियारले अनुसन्धान अघि बढाएको थियो।
महानगर कार्यालय पुगेको अख्तियारको टोलीले कार्यपालिका बैठकको निर्णय गरेका कागजात, राजश्वसम्बन्धी अहिलेसम्म भएका निर्णयका कागजात समेत जफत गरेको शिवाकोटीले बताए।
त्यस्तै नक्सा लगायत अन्य कागजात समेत अख्तितयारले नियन्त्रणमा लिएको छ।













