काठमाडौं— पाकिस्तान र इरानमा रहेका अफगानी शरणार्थीहरु आफ्नै देश फर्किन थालेका छन्।
विगत एक महिनाको अवधीमा करिव १ लाख १५ हजार अफगानी शरणार्थीहरु आफ्नै देश अफगानिस्तान फर्किएको स्थानीय सञ्चारमाध्यम टोलो न्यूजले जनाएको छ।
टोलो न्यूज च्यानलले शरणार्थी र स्वदेश फिर्ता मन्त्रालयका प्रवक्ता अब्दुल मुतालिब हक्कानीलाई उद्धृत गर्दै सो कुरा जानकारी गराएको हो।
हक्कानीले फर्केका मानिसहरूलाई नगद र खाना वितरण गरिएकोसमेत बताएका छन्।
मिडिया रिपोर्टहरुका अनुसार २.५ मिलियन भन्दा बढी अफगानी शरणार्थीहरू पाकिस्तानमा बसिरहेका छन् भने लगभग सोही सङ्ख्या इरानमा पनि रहेका छन्।
सन् २०२१ अगष्टमा त्यहाँको राष्ट्रपति कार्यालयसहित सरकारी संस्थाहरु तालिवानले कब्जामा लिएपछि त्यहाँका नागरिकहरु देश छाडेर बाहिरिएका थिए।
अफगान कार्यवाहक सरकारले विदेशमा रहेका अफगान आप्रवासीहरूलाई घर फर्कन र आफ्नो युद्धग्रस्त देशको पुनर्निर्माणमा योगदान गर्न आग्रह गर्दै आएको छ।