News Griha :: न्यूजगृह
गृहमन्त्री लामिछाने भन्छन्ः भ्रष्टाचारको फाइल खुल्न थालेपछि रातारात समीकरण फेरियो 
फाइल तस्बिर

काठमाडौं— उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले भ्रष्टाचारको फाइल खुल्न थालेपछि रातारात समीकरण फेरिएको टिप्पणी गरेका छन्। 

मंगलबार सिंहदरबारमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै गृहमन्त्री लामिछानेले सो कुरा बताएका हुन्। 

नयाँ राजनीतिक समीकरणबारे लामिछानेसँग धारणा राखेका सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिँदै उनले भने, ‘तपाईंहरु नै फाइल खोल्नुप¥यो खोल्नुप¥यो भन्नुहुन्थ्यो। भ्रष्टाचारको फाइल यस्तो खुल्यो कि एक रात पनि टिक्न नसक्ने भयो, यसलाई के भन्नु र मैले।’

त्यस्तै अहिले सुशासनका लागि केही मान्छेहरु पक्राउ परेको दाबी गर्दै भ्रष्टाचारीहरुलाई जोगाउन समीकरण फेरिएको भन्दै कटाक्ष गरे। साथै अहिलेको समीकरण फेरिनुको पछाडीको कारण जनताले राम्रोसँग बुझेको उनले बताए। 

‘अहिले सुशासनका लागि केही मान्छेहरु पक्राउ परे। यो देशका लागि संकट थियो कि केही भ्रष्ट मानिसहरुलाई आउन लागेको थियो। कसलाई जोगाउन खोज्या यो?  कसलाई जोगाउन रातारात परिवर्तन भयो होला? यति पनि बुझ्न सकिँदैन र?  जनताले राम्रोसँग बुझेका छन्,’ गृहमन्त्री लामिछानेले भने।  

सोमबार राति एमाले र कांग्रेसका शीर्ष नेताहरुबीच भएको सहमती अनुसार नयाँ समीकरण बन्ने र त्यसले संविधानका विभिन्न प्रावधान समेत फेर्ने समझदारी बनेको छ। त्यसबारे बोल्दै गृहमन्त्री लामिछानेले भने, ‘एकाएक संविधान जोगाउन सक्ने चिन्ता कहाँबाट आयो? यो त सबैले बुझेकै कुरा हो। अब यसको संवैधानिक प्रक्रियाहरु सुरु होला।’

त्यस्तै गृहमन्त्री लामिछानेले अहिले नै राजीनामा दिने पक्षमा नरहेको उल्लेख गर्दै नयाँ सरकार बन्ने भएपछि तत्काल राजीनामा दिने बताए। 
आज बसेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठकले तत्काल राजीनामा नदिने तर अर्को सरकार बन्ने भएपछि राजीनामा दिने निर्णय गरेको छ। 

प्रकाशित मिति: मंगलबार, असार १८, २०८१  १४:५२
Weather Update