News Griha :: न्यूजगृह
धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश 

काठमाडौं— सर्वोच्च अदालतले धितोपत्र बोर्डको अध्यक्षको नियुक्ति प्रक्रिया रद्द नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। 

धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिप्रक्रिया रद्द गर्ने निर्णयविरुद्ध अध्यक्षका लागि प्रत्यासी समेत रहेका रहेका सन्तोषनारायण श्रेष्ठले सोमबार सर्वोच्चमा रिट दायर गरेका थिए। 

उक्त रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश अव्दुल अजीज मुसलमानको एकल इजलासले उक्त प्रक्रिया रद्द नगर्न आदेश दिएको हो। त्यस्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाइ दायर उक्त रिटमा कारण देखाउ आदेश समेत जारी गरिएको सर्वोच्च प्रशासनले जनाएको छ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठको संयोजकत्वमा धितोपत्र बोर्डको अध्यक्ष सिफारिसका लागि समिति गठन गरिएको थियो। उक्त समितिले गत शुक्रबार अध्यक्ष चयनको प्रक्रिया रद्द गरेको सूचना जारी गरेको थियो।

सर्ट लिस्टमा परेकामध्ये सन्तोषनारायण श्रेष्ठ र निर्देशक मुक्तिनाथ श्रेष्ठ कार्ययोजना प्रस्तुतिकरणको लागि उपस्थित भएपनि डा. नवराज अधिकारी, चिरञ्जीवी चापागाई र कृष्णबहादुर कार्की भने कार्ययोजना प्रस्तुतीकरण तथा अन्तर्वार्तामा अनुपस्थित भएका हुन्। सोही कारण देखाउँदै समितिले छनोट प्रक्रिया रद्ध गरेको थियो।  

रिट निवेदनकर्ता श्रेष्ठले उक्त प्रक्रिया सुचारु गर्न माग गरेका थिए।   

प्रकाशित मिति: मंगलबार, असार १८, २०८१  १४:१८
Weather Update