News Griha :: न्यूजगृह
देउवाको नजरमा गिरिजाबाबु– उहाँ नभएको भए देशमा गणतन्त्र आउने थिएन
फाइल तस्बिर

काठमाडौं— नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले गणतन्त्र स्थापनामा खेलेको भूमिकाबारे स्मरण गरेका छन्। 

पूर्व प्रधानमन्त्री समेत रहेका देउवाले मंगलबार पार्टी कार्यालय सानेपामा गिरिजाबाबुको शताब्दी जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा सो कुरा बताएका हुन्। 

तत्कालीन कांग्रेसका सभापति समेत रहेका कोइरालाको आज शताब्दी (१००औँ) जन्मजयन्तीका अवसरमा कांग्रेसले ‘क्रान्तिदेखि शान्तिसम्म’ फोटो प्रदर्शनी गरेको छ। 

सो अवसरमा बोल्दै देउवाले गिरीजाबाबु नभएको भए देशमा गणतन्त्र नै नआउने बताए। त्यस्तै उनले २००७ सालको क्रान्तिदेखी गणतन्त्रसम्मको राजनीतिक क्रियाशीलताको बारेमा चर्चा गरे। 

‘गिरिजाबाबु नभएको भए देशमा गणतन्त्र पनि आउँदैन थियो। त्यसैले गिरिजाबाबु २००७ सालको क्रान्तिदेखि नेपालको राजनीतिमा अत्यन्तै क्रियाशील, सक्रिय र जुझारु व्यक्तित्व हुनुहुन्थ्यो। त्यो कारणले नेपालमा प्रजातन्त्रमात्रै फर्किएन, गणतन्त्रसमेत आएको छ,’ उनले भने। 

त्यस्तै उनले आफूले विद्यार्थी कालदेखि नै गिरीजाबाबुलाई चिनेको र उनकै समर्थनमा आफू नेपाल विद्यार्थी संघ (नेविसंघ) को सभापति भएको समेत बताए।  

‘मैले विद्यार्थी बेलामा नै उहाँलाई चिनेको हो। त्यो बेलामा उहाँले विश्वविद्यालयको चुनावमा समर्थन गर्नुभएको थियो, पहिलो इलेक्शनमा म हारेको हो वास्तवमा। उहाँको समर्थन भएकै कारण पनि म नेविसंघको सभापति भएको हो। उहाँ कहिल्यै नथाक्ने मान्छे हो,’ उनले भने। 

प्रकाशित मिति: मंगलबार, असार १८, २०८१  १३:१५
Weather Update