News Griha :: न्यूजगृह
नयाँ समीकरणबारे बालुवाटारमा माओवादीको निष्कर्ष– देश पश्चगमनको बाटोमा गयो  
फाइल तस्बिर

काठमाडौं— नेकपा माओवादी केन्द्रले पछिल्लो राजनीतिक घटनाक्रम स्वभाविक रुपमा नआएको निष्कर्ष निकालेको छ। 

एमाले–कांग्रेस मिलेर नयाँ सरकार गठनको सहमतीपछि माओवादीले पदाधिकारी बैठक बोलाएर त्यसको समीक्षा गरेको हो। 

प्रधानमन्त्री निवास बालुवाटारमा भएको पदाधिकारी बैठकमा एमाले–माओवादीबीच संविधान नै संशोधन गर्ने किसिमका सहमती हुनुले देशलाई अग्रगमन भन्दा प्रश्चगमनतिर उन्मुख गराइएको माओवादीको धारणा रहेको छ। 

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै माओवादीका उपाध्यक्ष एवं प्रवक्ता अग्नीप्रसाद सापकोटाले भने, ‘संविधान संशोधनको कुरा पनि आएका छन्। संविधानमा समानुपातिकलाई चलाउने कुरा आएको छ। त्यो संविधानको महत्वपूर्ण अंग हो। संविधान संशोधनको कुरा अग्रगमनभन्दा पनि पश्चगमनतिर उन्मुख छ।’

त्यस्तै आजको घटनाक्रमको बारेमा प्रधानमन्त्री समेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘ब्रिफिङ’ गरेको उनले बताए। छलफलमा प्रचण्डले उक्त घटनाक्रम संवैधानिक मूल्य मान्यता विपरित आएको धारणा प्रस्तुत गरेको उनले बताए। त्यस्तै उनले वर्तमान सरकारले गरेका कामबारे पनि समीक्षा गरे। 

‘यो विषयमा प्रारम्भिकरूपमा ब्रिफिङ भएको छ, घटनाक्रमबारे अध्ययन हुँदैछ। अप्रत्यासित रूपमा घटनाक्रम अगाडि आएका छन्। यो त्यति स्वाभाविक र संवैधानिक मूल्यमान्यतामा आधारित भएर आएजस्तो लागेको छैन,’ उनले भने, ‘यो स्वाभाविक र प्राकृतिक छैन । संविधानलाई राम्रोसँग अनुभव गर्न पाइएको छैन। यो सरकार बनेदेखि सामाजिक न्याय र सुशासनमा उल्लेख्य काम भएका छन्। भ्रष्टाचारविरुद्ध इतिहासमै नआएको कुरा बाहिर ल्याएको छ। ललिता निवास, भुटानी शरणार्थी, सुनकाण्डलगायतको फाइल खुलेका छन्।’

सोमबार राति एमाले र कांग्रेसबीच नयाँ सरकार गठनबारे समझदारी भएको छ। सोही अनुसार नेताहरु छलफलमा जुटेका छन्। प्रधानमन्त्री प्रचण्डले भने नयाँ सरकार गठनका लागि मार्गप्रशस्त भन्दा पनि विश्वासको मत लिने तयारीमा देखिएका छन्। 

प्रकाशित मिति: मंगलबार, असार १८, २०८१  १२:३४
Weather Update