News Griha :: न्यूजगृह
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक

काठमाडौं— नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। 

कांग्रेसले बुधबार (भोलि) असार १९ गतेका लागि बैठक आह्वान गरेको हो। 

सभापति शेरबहादुर देउवाको निवास, बूढानीलकण्ठमा बिहान ९ बजे बस्ने बैठकमा  पछिल्लो राजनीतिक विकासक्रमबारे छलफल हुने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। 

सङ्घीय संसद्का दुई ठूला दल कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी एमालेले सत्ता समीकरणका लागि सोमबार सहमति गरेका हुन्।

दुई दलबीच संविधान संशोधनलगायत ‘एजेन्डा’सहित राष्ट्रिय सहमतिको सरकार बनाउन सहमति भएको छ। 

लामो छलफल र गृहकार्यपछि नेपाली कांग्रेस र नेकपा एमालेबीच सत्ता साझेदारी गर्नेसम्बन्धी सहमतिपत्रमा गएराति हस्ताक्षर भएको हो। 

सहमतिपत्रमा कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीले हस्ताक्षर गरेका छन्। 

प्रकाशित मिति: मंगलबार, असार १८, २०८१  १२:१८
Weather Update