
काठमाडौं— नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै छ। बैठक मङ्गलबार बिहान ९ बजे सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बस्ने छ।
बैठकमा नेकपा एमालेसँग सत्ता साझेदारीमा भएको समझदारीलाई अनुमोदन गर्ने विषयमा छलफल हुने एक नेताले जानकारी दिए।
कांग्रेस–एमालेबीच सोमबार मध्यरातमा सत्ता साझेदारी गर्ने र सरकारको नेतृत्वको आलोपालो गर्ने समझदारी भएको थियो। यद्यपि समझदारीलाई अन्तिमरूप दिन भने बाँकी छ।
समझदारी पत्रलाई आज अन्तिम रूप दिएर दुवै दलका शीर्ष नेताहरूले हस्ताक्षर गर्ने तयारी छ।
दुई दलका नेताहरूबीच मध्यरातसम्म भएको छलफलमा एमाले अध्यक्ष केपी शर्मा ओली सुरुका दुई वर्ष र शेरबहादुर देउवा बाँकी अवधि चुनावसम्म प्रधानमन्त्री बन्ने समझदारी भएको छ।
छलफलमा सहभागी एक नेताका अनुसार सहमतिको प्रारम्भिक खाका अनुसार उनीहरूले प्रदेश सरकारकामा पनि ३–३ वटा सरकार बाँडेका छन्।
मधेस प्रदेशमा चाहिँ मधेसकेन्द्रित दलकै नेतृत्व हुन सक्ने उनीहरूको समझदारी छ।
दुई दलबीच संविधान संशोधनका लागि सुझाव दिन एक समिति बनाउने पनि सहमति भएको स्रोतले जानकारी दिएको छ।