News Griha :: न्यूजगृह
धितोपत्र बोर्ड अध्यक्ष सिफारिसका लागि पुनः समिति गठन, सदस्य पुरानै 

काठमाडौं— सरकारले धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति सिफारिसका लागि पुनः सिफारिस समिति गठन गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठको संयोजकत्वमा नै समिति गठन गरेको हो।

अर्थ मन्त्रालयका अनुसार मन्त्रिपरिषद्ले पुरानै सिफारिस समितिलाई पुनः जिम्मेवारी दिएको हो। सिफारिस समितिमा श्रेष्ठसहित अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनी र व्यवस्थापनका प्राध्यापक उदय निरौला रहेका छन्।

यसअघि गत माघमा गठन गरेको सिफारिस समितिले ५ जनाको सङ्क्षिप्त सूची तय गरी अन्तर्वार्ताका लागि बोलाएको थियो।

सर्ट लिस्टमा परेका मध्ये सन्तोषनारायण श्रेष्ठ र निर्देशक मुक्तिनाथ श्रेष्ठ कार्ययोजना प्रस्तुतीकरणको लागि उपस्थित भए पनि डा नवराज अधिकारी, चिरञ्जीवी चापागाईं र कृष्णबहादुर कार्की अनुपस्थित भएका थिए। 

सिफारिस समितिले कम्तीमा ३ जना उम्मेदवारको नाम मन्त्रिपरिषद्मा सिफारिस गर्नुपर्ने कानुनी व्यवस्था भएकाले उक्त प्रक्रिया बीचैमा रद्द गरिएको थियो।

प्रकाशित मिति: सोमबार, असार १७, २०८१  २०:४९
Weather Update