News Griha :: न्यूजगृह
मन्त्रिपरिषद् बैठकमा प्रचण्डको ‘ब्रिफिङ’- बाहिरको हल्ला नपत्याउनुस्, गठबन्धन टिक्छ 

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धनमा असमझदारी बढ्यो भनेर बाहिर भएको चर्चा असत्य रहेको ‘ब्रिफिङ’ गरेका छन्। 

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्रीले एमाले अध्यक्ष ओलीसँगको पटकपटक भेटपछि आफू आस्वस्त रहेका जानकारी गराएका हुन्। 

मन्त्रिपरिषद् बैठकपछि बोल्दै सञ्चार तथा सूचनाप्रविधिमन्त्री रेखा शर्माले बाहिर भएको चर्चाको विषयमा जानकारी गराएको र गठबन्धन लामै समय जाने स्थिति बनेको ‘ब्रिफिङ’ प्रधानमन्त्रीबाट भएको बताइन्। 

उनले भनिन्, ‘प्रधानमन्त्रीले बाहिर चर्चामा आएको विषयको ब्रिफिङ गर्नुभयो। ओली र प्रधानमन्त्रीको हिजो पनि आज पनि बैठक भएको कुरा त बाहिर आएकै छ। बाहिर असमझदारी बढे भन्ने खालका जुन कुराहरु आए त्यो असत्य हुन्, यो छलफल सकारात्मक ढंगले अगाडि बढेको छ। यो गठबन्धन लामै समय जाने स्थिति बनेको छ भनेर ब्रिफिङ गर्नुभएको छ।’

शनिबार कांग्रेस सभापति शेरबहादुर देउवासँग ओलीको भेटपछि नयाँ सत्ता समीकरण बन्ने चर्चा चलेको थियो। यसैबीच प्रधानमन्त्री प्रचण्डले ओलीसँग आजै बालुवाटारमा लामो छलफल गरेका थिए।

प्रकाशित मिति: सोमबार, असार १७, २०८१  १९:२९
Weather Update