News Griha :: न्यूजगृह
ओलीसँगको भेटबारे पदाधिकारी बैठकमा देउवाको ‘ब्रिफिङ’

काठमाडौं— प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको भेटबारे पदाधिकारी बैठकमा ‘ब्रिफिङ’ गरेका छन्। 

अहिले देउवा निवास बूढानिलकण्ठमा कांग्रेस पदाधिकारी तथा पूर्व पदाधिकारीहरुको बैठक चलिरहेको छ।

सो क्रममा देउवाले शनिबार ओलीसँगको भेटबारे ‘ब्रिफिङ’ गरेका हुन्। 

देउवाले बैठकमा शीर्ष नेताहरुबीच भेट हुँदा सत्ता परिवर्तनको चर्चा चल्नु स्वभाविक रहेको जानकारी गराए। साथै आफूहरुबीच सौहार्दपूर्ण सम्बन्ध रहेको बताउँदै उनले अनावश्यक हल्ला नगर्न समेत आग्रह गरेको एक नेताले बताए। 

शनिबार देउवा–ओलीबीचको भेटलाई अहिलेको सत्ता समीकरण फेरबदललाई समेत लिएर हेरिएको छ। नेताद्वयको भेटपछि राजनीतिमा नयाँ तरंग पैदा भएपछि माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ओलीसँग निरन्तर भेट गरिरहेका छन्।

आइतबार गृहमन्त्री रवि लामिछानेसहित भेटेका प्रचण्डले सोमबार बालुवाटार बोलाएर ओलीसँग घण्टौँ वार्ता गरेका छन्। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, असार १७, २०८१  १७:१४
Weather Update