News Griha :: न्यूजगृह
यस्तो छ तारा एअरको जहाज सम्पर्कविहीन भएको हल्लाको वास्तविकता
फाइल तस्बिर

काठमाडौं— सोमबार दिउँसो तारा एअरको जहाज सम्पर्कविहीन भएको हल्ला सामाजिक सञ्जालमा मच्चियो। 

पोखराबाट जोमसोमका लागि उडेको तारा एअरको जहाज सम्पर्कविहीन भन्ने हल्ला मच्चिएपछि हवाई उड्डयन क्षेत्रमा सनसनी मच्चिन पुग्यो। 

एअरको जहाज सम्पर्कविहीन भन्ने समाचार तथा सूचनाहरू सामाजिक सञ्जालमा फिँजिएपछि तारा एअरले विज्ञप्ति नै निकालेर प्रष्टिकरण दिनुपरेको छ।

‘आज मिति २०८१–०३–१७ (जुलाइ ०१, २०२४)का दिन केही अनलाइन पत्रिका र गलत मनसायका व्यक्तिले बदनीयतपूर्वक सामाजिक संजालमा करिब मितिको समयमा ‘तारा एअरको पोखराबाट जोमसोमका लागि उडेको जहाज सम्पर्क विहीन’ भनी गलत समाचार तथा पोष्टहरु हालिएको पाइएकाले उक्त गलत र भ्रमपूर्ण समाचार सत्य नभएकाले कृपया त्यस्ता गलत र भ्रमपूर्ण समाचार पछि नलाग्न सम्पूर्ण सरोकारवालामा अनुरोध गरिन्छ,’ तारा एअरले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

यता, पोखराबाट जोमसोमका लागि उडेको जहाज सम्पर्कविहीन भएको भन्ने हल्ला एकाएक फैलिएपछि कम्पनी तनावमा रहेको र कर्मचारीहरु अतालिएका थिए। तारा एअरसँग हाल तीन वटा जहाज रहेका छन्।  

नेपालमा पछिल्लो समय सामाजिक सञ्जालको गलत प्रयोग भइरहेको भन्दै सरोकारवालाहरुले चिन्ता व्यक्त गरिरहेका छन्। सामाजिक सञ्जालमा आएका सूचनाहरुलाई नै आधार मानेर अनावश्यक हल्लाले बेलाबेला सामाजिक परिवेश नै खल्बलिने गरेको छ। कसैले अनावश्यक रुपमा सामाजिक सञ्जालमा लेखेको कुरालाई अन्य प्रयोगकर्र्ताहरुले ‘ब्रेकिङ न्यूज’ भन्दै आफ्नो वालमा पोस्ट गर्ने गरेका छन्। त्यसो त कतिपय समयमा चर्चित व्यक्तिहरुको निधनबारे समेत हल्ला फैलिने गरेका छन्। 

आजको घटनाको विषयमा समेत सोही भएको देखिन्छ। सामाजिक सञ्जालमा कोही कसैले राखेको सूचनालाई आधार मान्दै सञ्जालमा सूचना बग्रल्ती बनाउँदा कम्पनीले विज्ञप्ति नै जारी गर्नुपरेको हो। 

प्रकाशित मिति: सोमबार, असार १७, २०८१  १७:०२
Weather Update