News Griha :: न्यूजगृह
महाधिवेशनमा झलनाथको दस्तावेजः कस्तो हुनेछ नयाँ समाजवादी कार्यक्रम? [पूर्णपाठ]

काठमाडौं— नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले नेपाली समाजको विकासका लागि नयाँ समाजवादी कार्यक्रमका साथ अघि बढ्नुपर्नेमा जोड दिएका छन्। 

आइतबारबाट जारी पार्टीको १०औँ राष्ट्रिय महाधिवेशनमा नेपाली विशेषताको समाजवादी कार्यक्रम नामक दस्तावेज प्रस्तुत गर्दै सो कुरा उल्लेख गरेका हुन्। 

गत जेठ १ र २ गते बसेको एकीकृत समाजवादीको केन्द्रीय समिति बैठकले समेत पारित गरेको उक्त दस्तावेजमा नेपाली समाजको विकासका लागि नयाँ धारणाका साथ अघि बढ्नुपर्ने बताए। 

‘अब हिजोका कुनै पनि कार्यक्रमहरूको ‘रक्षा र विकास’ गरेर नेपाली जनता र राष्ट्रलाई अग्रगतितिर लैजान सकिँदैन। हामीले बिलकुल नयाँ धरातल, नयाँ औचित्य र नयाँ आवश्यकताका आधारमा अब समाजवादी कार्यक्रम अघि सार्नुपर्छ। त्यो नेपाली क्रान्तिको इतिहासमा बिलकुल नयाँ र ऐतिहासिक कार्यक्रम हुनेछ,’ जारी दस्तावेजमा भनिएको छ। 

त्यस्तै अहिलेको सरकार पुँजीवादी सामाजिक आर्थिक ढाँचा अनुसार अघि बढिरहेको उल्लेख गर्दै उक्त ढाँचा पूरानो भएको र त्यो ढाँचा प्रतिकृयावादी ढाँचा भएको बताएका छन्। 

‘यतिबेला हामी पुँजीवादी सामाजिक–आर्थिक ढाँचा भएको अवस्थामा छौँ। यो ढाँचा एउटा प्रतिकृयावादी ढाँचा हो। यो ढाँचा आफै अन्र्तरविरोध ग्रस्त र संकटग्रस्त छ। यसले नेपाली समाजका कुनै पनि आधारभुत समस्याहरुलाई समाधानगर्न सक्तैन। त्यसको उल्टो यसले ती समस्याहरुलाई झन झन चर्को बनाउँदै लान्छ र लगिरहेको छ। यो पुँजीवादी सामाजिक–आर्थिक ढाँचा स्थापना भएको पनि करिब दुई दशक पुग्न लाग्यो। नेपाली समाजका हर क्षेत्रहरु संकटग्रस्त बन्दै गैरहेका छन्। राजनीतिक क्षेत्र अन्यौल र दिशाहिनता बाट गुज्रिरहेको छ। पुँजीवादी जनवादी क्रान्तिका वाहक वामपंथी शक्तिहरु आफै कुइराको काग जस्ता बनिरहेका छन । उनीहरुले समाजवादी क्रान्ति र रुपान्तरणको लक्ष्य र ठोस कार्यक्रम अघि सार्न नसकेको हुनाले कम्युनिष्ट आन्दोलन आफै दक्षिणपंथी भड्काउको शिकार बन्दै गएको छ। उनीहरु भित्र विभाजनको प्रकृया रोकिएको छैन। उनीहरु मध्ये कति त “बहुदलीय जनवाद”लाई नै अहिले पनि लक्ष्य बनाएर हिडिरहेका छन् र पुँजीवादी “संसदीय लोकतन्त्र” को सेवा गरिरहेका छन्। त्यसले गर्दा कम्युनिष्ट क्रान्तिकारीहरुको पंक्तिमा भ्रम, अन्यौल र दिशाहिनता बढ्दै गै रहेको छ,’ उनले उल्लेख गरेका छन्। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, असार १७, २०८१  १६:५०
Weather Update