News Griha :: न्यूजगृह
ओली–देउवा भेटले झस्किएको माओवादीले भन्यो– भेट हुँदैमा सत्तामा उलटफेर आइहाल्दैन

काठमाडौं— शनिबार नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीचको भेटपछि नेपालको राजनीति तरंगित बनिरहेको छ।

बजेट र सरकारको कामकारबाहीबारे एमाले नेताहरुले रुस्टता पोखिरहेका बेला सत्ता र प्रतिपक्षी दलका नेताबीचको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ।  

ओली–देउवा भेटपछि प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओलीसँग निरन्तर भेट गरिरहेका छन्। बाहिर समसाययिक विषयको छलफल भने पछि विपक्षी दलका नेतासँगको भेटपछि बाक्लिएको छलफलले कतै वर्तमान समीकरण त फेरिन लागेको होइन? भन्ने संशयहरु समेत पैदा हुन थालेको छ।  

संसदीय अंकणितमा तेस्रो दलका रुपमा रहेको माओवादी केन्द्रले पटकपटक गठबन्धन फेर्दै सरकारको नेतृत्व गरिरहेका कारण कतै नयाँ समीकरणपछि सत्ताबाट बाहिरिनु पर्ने त होइन भन्ने डरमा देखिन्छ। तर माओवादी नेताहरु भने दुर्ई शीर्ष नेताहरुको भेटलाई सत्ता समीकरणको फेरबदलसँग जोडेर हेर्न नहुने प्रतिक्रिया दिन थालेका छन्।  

आज बसेको प्रतिनिधि सभा बैठकको विशेष समयमा माओवादी केन्द्रका सांसद माधव सापकोटाले ओली–देउवा भेटलाई सत्ताको उलटफेर आउने किसिमले हेर्न नहुने बताए। उनले घटनाक्रमको विश्लेषण नै नगरी त्यतिकै हचुवाका भरमा समीकरण नै फेरिन्छ भनेजसो गरी भाष्य निर्माण गर्नुले समाजलाई स्थिरतातिर नलैजाने बताए। 

‘दुई दिनजतिका समाचारहरु र राजनीतिक घटनाक्रमलाई हामीले नजिकबाट नियाल्यौं भने अहिले सिंगो राजनीति तरंगित भएको छ। अनौपचारिक संवाद हुँदा, समाचारहरू अध्ययन गर्दा सिंगो राजनीति तरंगित हुनेजस्तो। एउटा दलको नेता र अर्को दलका नेता अझ भनौ सत्तापक्ष र प्रतिपक्ष दलका नेताका बीचमा संवाद हुनेबित्तिकै सत्ता गठबन्धनमा उलटफेर आउने भयो भनेर ठूला ठूला ब्यानर न्यूजहरु हामीले पढ्न पाउँछौँ। तर मलाई त्यस्तो के लाग्दैन भने दुई जना नेताहरु बस्ने बित्तिकै पूरै सत्ताको समीकरण उलटफेर हुने, पूरै सत्ताको समीकरण नै बदलिने जस्तो भाष्य बनाउने र चाँडै कुनै विश्लेषण बिना धारणा बनाउने परिपाटीले समाजमा एउटा स्थिरताको मानक दिँदैन,’ उनले भने। 

त्यस्तै बैठकमा बोल्दै उनले शान्ति प्रक्रियाको बाँकी काम टुंगो लगाउने विषय बार्गेनिङको चिप्सको रुपमा प्रयोग गरिएको भन्दै आपत्ति जनाए।   

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, असार १७, २०८१  १३:४१
Weather Update