News Griha :: न्यूजगृह
ज्ञानेन्द्र शाहीको व्यंग्यात्मक कविताः एउटा कुटे जस्तो गर्छ अर्को रोए जस्तो...

काठमाडौं— राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानबहादुर शाही (ज्ञानेन्द्र शाही) ले नयाँ र पूराना दलहरु अवसरका लागि मरिहत्य गर्ने गरेको भन्दै कटाक्ष गरेका छन्।

सोमबार बसेको प्रतिनिधि सभाको विशेष समयमा बोल्दै शाहीले ‘एउटा कुटे जस्तो गर्छौ, अर्को रोए जस्तो गर्छौँ’ भन्दै व्यंग्यात्मक कविता समेत सुनाए।  

यस्तो छ शाहीको कविता

एउटा कुटे जस्तो गर्छौ, अर्को रोए जस्तो गर्छौँ
एउटा घचेटे जस्तो गर्छ अर्को अलि पर सर्छ। 
तिमी हाम्रो हात काट्छौ र चम्चाले खुवाउँछौँ
दिउँसो कम्बल बाँड्छौँ र राति घरमा आगो लगाउँछौँ। 
तिम्रो सक्कली व्यवहारबाट हामी बेखबर 
आँखा चिम्लिएर जयजयकार गर्छौँ
तब त हामी दुःख पाउँछौँ
यी सब तिम्रा नाटकहरु हुन्।
हामीलाई थाहा छ 
तिमीहरु सब मिलेर आपसमा अवसरको साँझेदारी गर्छौ। 

त्यस्तै उनले लगानी सहजीकरणसम्बन्धी अध्यादेशले गिरीबन्धु टी–स्टेटको जग्गा भागबण्डा खान पाउनेगरी ल्याइएको भन्दै आपत्ति जनाए। त्यसैगरी काठमाडौं महानगरपालिकामा पनि दलगत राजनीतिले गाँजेको र बैठक बस्न नसकेको जिकिर गरे।

उनले दलको केन्द्रीय नेताले फोन गरेर महानगरको बैठकमा बखेडा झिक्न लगाउने गरेको बताए। साथै स्थानीय तहलाई दलविहीन बनाउनुपर्नेमा जोड दिए। 

प्रकाशित मिति: सोमबार, असार १७, २०८१  १३:११
Weather Update