
काठमाडौं— नेकपा एकीकृत समाजवादी (एस) को आइतबारबाट जारी महाधिवेशनको बन्दसत्र सुरु भएको छ।
कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा सुरु भएको बन्द सत्रमा अध्यक्षको राजनीति प्रतिवेदन, महासचिवको सांगठनिक प्रतिवेदन, नेपाली विशेषताको समाजवाद, विधान संशोधन प्रस्ताव पेस हुनेछ। प्रतिवेदनमाथि छलफल गरेर पारित गरेपछि नेतृत्व चयनको प्रक्रिया सुरु हुनेछ।
नेतृत्व चयनका लागि विद्युतीय मेसिनको प्रयोग गरिने भएको छ। प्रतिनिधिहरुले त्यसको डेमो समेत गरिसकेका छन्।
नयाँ नेतृत्व चयनलाई थप व्यवस्थित बनाउन पार्टीका सम्मानित नेता झलनाथ खनालको नेतृत्वमा १३ सदस्यीय अध्यक्ष मण्डल गठन गरिएको छ। त्यस्तै प्रचार विभाग प्रमुख समेत रहेका उपमहासचिव जगन्नाथ खतिवडा संयोजकत्वमा १५ सदस्यीय बहस नोट कमिटी गठन गरिएको छ। भने डा. गंगालाल तुलाधर र डा. विजय पौडेललाई माइन्यूट लेखनको जिम्मा दिइएको छ।
आगामी असार २० गतेसम्म चल्ने महाधिवेशनले २१ पदाधिकारीसहित २९९ सदस्यीय नयाँ केन्द्रीय कमिटी चयन गर्नेछ।
पार्टीको आगामी नेतृत्वका लागि वर्तमान अध्यक्ष माधवकुमार नेपाल अध्यक्षको तयारीमा रहेका छन्। त्यस्तै पार्टीका सम्मानित नेता खनाल र महासचिव घनश्याम भुसाल पनि नेतृत्वको तयारीमा रहेका छन्। यसअघि नै सर्वसम्मत नेतृत्व चयनको चर्चा चले पनि सर्वसम्मत नेतृत्व चयन भने नहुने देखिएको छ।